इलाम २ मा सुहाङ र बझाङ प्रदेश १ मा भण्डारीलाई उम्मेद्वार बनाउने एमाले निर्णय

काठमाडौँ- नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुनुहुन्छ । सुवासको मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।
नयाँ राजनीतिक सहकार्यले मुलुकमा आशाको सञ्चार 
यस्तै आजको बैठकपछि उपमहासचिव ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केहीमात्रामा आशाको सञ्चार भएको प्रतिक्रिया दिनुभएको छ ।
“हाम्रो पार्टी यस सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गतिदिने र देश राष्ट्रको हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ”, उहाँले भन्नुभयो ।
सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझबढी चुस्त बनाई समस्या केन्द्रित गरी जनतामा भरोसा जगाउने गरी अगाडि बढोस् भनेर एमालेले सुभेच्छा व्यक्त गरेको पनि जानकारी दिनुभयो । सो बैठकले मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भत्र्सना पनि गरेको छ ।
बैठकले पार्टीका नेता ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । यसअघि महरले केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको थियो । उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उहाँलाई पुनःकेन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताउनुभयो ।.

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.