कालीगण्डकी नदीको कटानबाट क्षतिग्रस्त पर्खाल र रिङरोडको पुनर्निर्माण गरिने
पुनर्निर्माणमा पाँच करोड लाग्ने अनुमान, एक महिनाभित्र ठेक्काको तयारी

म्याग्दी– कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खालको पुनर्निर्माण गरिने भएको छ ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल कटान गरी क्षति पुर्याएको थियो।
कालीगण्डकी नदीमा उर्लिएर आएको बाढीले बेनी नगरपालिका-८ गणेशटोलको पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र बेनी नगरपालिका ७ मा रहेको म्याग्दी जेसीजको सचिवालय अगाडिको करिब १५ मिटर पर्खाल क्षतिग्रस्त बनाएको छ । नदीको तीव्र बहावले पर्खाल भत्काएपछि उक्त क्षेत्रको रिङरोड समेत क्षतिग्रस्त बनेको छ भने पर्खाल भत्किएको ठाउँमा अहिले सवारी आवागमन बन्द भएको छ ।
शुक्रवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख प्रेमहरि पराजुली, वडाका जनप्रतिनिधि तथा प्राविधिकको टोलीले बाढीबाट क्षतिग्रस्त रिङरोड र पक्की पर्खालको स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा क्षतिग्रस्त स्थानमा तत्काल मर्मतसम्भार गरी अस्थायी रूपमा सवारी आवागमन सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी क्षतिग्रस्त पर्खाल तथा रिङरोड क्षेत्रमा पुनर्निर्माणको काम अगाडि बढाइने जनाइएको छ ।
कालीगण्डकीमा आएको बाढीले कटान गरेर क्षति पु¥याएको पक्की पर्खाल र रिङरोड पुनर्निर्माण गर्न प्रारम्भिक रूपमा झण्डै पाँच करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले जनाएको छ । आगामी वर्षायाम सुरु हुनुअघि नै नदी नियन्त्रण र संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको आयोजनाका ईन्जिनियर नरजङ गुरुङले बताउनुभयो । उहाँका अनुसार बाढीले भत्काएको स्थानमा कम्पोजिट प्रविधिबाट पर्खाल निर्माण गर्ने योजना बनाइएको छ ।
क्षतिग्रस्त क्षेत्रको अनुगमन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीबजार संरक्षणका लागि पर्खाल पुनर्निर्माणको काममा ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले सदरमुकाम बेनीबजारलाई नदी कटानको जोखिमबाट जोगाउन आयोजनाले छिटो लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । जोखिमयुक्त स्थानमा आगामी दिनमा नदीको बहावले क्षति पु¥याउन नसक्ने गरी बलियो र दीगो संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
यसअघि उक्त क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजना बागलुङमार्फत रिङरोड निर्माण गरिएको थियो । मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको भए पनि पछिल्लो अनुगमनबाट थप क्षतिको विवरण प्राप्त भएकाले पुनः अद्यावधिक गरेर आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी गरिएको आयोजना प्रमुख प्रेमहरि पराजुलीले बताउनुभयो । कालीगण्डकी नदीको कटानबाट जोखिममा परेको बेनीबजारसहित आसपासका वस्ती संरक्षणलाई प्राथमिकतामा राखेर नदी नियन्त्रणको योजना सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कालीगण्डकी नदी र म्याग्दीखोलाको बीचमा रहेको म्याग्दीको सदरमुकाम बेनीबजार नेपालका जोखिमयुक्त सदरमुकाममध्ये एक हो । यसैगरी बाढीपहिरो र भू–क्षयका हिसाबले पनि म्याग्दी जिल्ला देशको छैटौं स्थानमा पर्दछ । त्यसैले दुईवटा खोलाको दोभानमा अवस्थित बेनीबजार संरक्षण गर्नको लागि आवश्यक बजेट व्यवस्थापनसहित योजना सञ्चालन गर्नुपर्ने देखिन्छ । समयमै नदी नियन्त्रणको योजना सञ्चालन र काम सम्पन्न नभएमा आउँदो वर्षायाममा थप जोखिम हुने स्थानीयवासी बताउँछन् ।।






प्रतिक्रिया राख्नुहोस्