चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुन्छ: अर्थमन्त्री पुन

वीरगञ्ज- अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताउनुभएको छ ।

वीरगञ्जमा आयोजित वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्तर्गत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीर्षकको सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताउनुभएको हो ।

“विश्व बैंकको तथ्याङ्कले पनि साढे तीन प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि हुने देखाएको छ”, उहाँले भन्नुभयो, “बजेटमा उल्लेख गरेजस्तो आर्थिक वृद्धि नभए पनि यो वर्ष सम्मानजनक आर्थिक वृद्धि हुनेमा आशावादी रहेका छौँ ।”

उहाँले चालु आवको बजेट वक्तव्यमा सरकारले छ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखे पनि समग्रमा आर्थिक वृद्धि उत्साहजनक हुने बताउनुभयो । उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुँजीगत खर्च झण्डै १० प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

“मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हादा २३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको थियो । अहिले ३० प्रतिशतभन्दा धेरै पुँजीगत खर्च भइसकेको छ । हामीले रु ७० अर्बभन्दा धेरै रकम बजारमा पठाएसँगै पुँजीगत खर्चमा पनि क्रमशः सुधारमा आएको छ ।

सरकारले नियमित भुक्तानी पनि गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “‘सरकारले जतिसक्दो धेरै पुँजी परिचालन गरेर बजारलाई चलायमान गराउने नीति अघि सार्दै आइरहेको छ ।”

उहाँले सरकारले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन पनि गरिसकेकाले पुँजीगत खर्च बढ्दै मुलुकको अर्थतन्त्र विगतको भन्दा चलायमान भएर रोजगारी सृजना हुने बताउनुभयो । “सरकारले सामाजिक सुरक्षा तथा पेन्सनलगायतमा जाने खर्चलाई पनि निकाशा गर्दै आइरहेका छौँ । यसले गर्दा पनि बजारलाई थप चलायमान गराउने आशा गरेका छौँ ।”

सरकारले चालु आवमा रु तीन खर्ब दुई अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म रु ९१ अर्ब ८० करोड खर्च भएको भन्दै उहाँले सरकारले पुँजीगत खर्च बढाउँदै लैजाने बनाउनुभयो ।

अर्थमन्त्री पुनले उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर नै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामीले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कुनै नियत राखेका छैनौँ ।

उद्योगीहरुले गलत नै काम गरेको खण्डमा पहिला कुरा सुन्ने र अदालती प्रक्रियाबाट गलत भएको खण्डमा मात्रै थुन्ने नीति लिनेछौँ । तपाईंहरुले राम्रोसँग काम गर्नुस हामी तपाईंहरुलाई दुख दिने पक्षमा छैनौँ ।”

अर्थमन्त्री पुनले सरकारले चालु आवमा ४१ प्रतिशत बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि हालसम्म नौ प्रतिशत मात्रै वृद्धि भएको बताउनुभयो ।

“गत आवभन्दा नौ प्रतिशत वृद्धि भएको राजस्वलाई १८ प्रतिशत पु¥याउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले भन्सारविन्दुमा हुने राजस्व चुहावट नियन्त्रणका लागि पनि आवश्यक काम गर्दै आइरहेको छ ।”

अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले मुलुकको राजस्व सङ्कलन समग्रमा निराशाजनक नभएको दाबी गर्नुभएको छ । “हामी अहिले पनि राजस्व सङ्कलनमा निराशा हुने अवस्थामा छैनौँ । जुन गतिमा राजस्व सङ्कलन हुनुपर्ने थियो । सोअनुसार नभएको भने पक्कै हो”, उहाँले भन्नुभयो, “सरकारले आर्थिक गतिविधि बढाउँदै राजस्व सङ्कलन बढाउनेतर्फ अग्रसर भइरहेको छ ।”

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक र बाह्य अर्थतन्त्र सवल भएको बताउँदै आन्तरिक उत्पादन बढाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्सारको बुक भ्यालू मूल्याङ्कन गर्ने पद्धतिको अन्त्य हुनुपर्ने माग गर्नुभयो । “आर्थिक मन्दीको चपेटामा परेका उद्योगी व्यवसायीलाई प्रवर्द्धन गर्ने खालका नीति तथा कार्यक्रम ल्याउन जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीको आत्मबल जगाउने खालको काम गर्न सरकारलाई अनुरोध छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.