इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए

गाजापट्टि/ एपी- इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् ।

हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताउनु भएको छ ।

इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाई छ ।

हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ ।

अल–जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरु नझुक्ने बताउनु भएको छ ।

हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्नेगरी वार्ताहरु भइरहेका छन् ।

हानिएले सन् २०१९ मा गाजा छाड्नु भएको थियो । उहाँ हाल कतारमा निर्वासित जीवन बिताइरहनु भएको छ । गाजामा अहिले हमासका शीर्ष नेताका रुपमा येह्या सिन्वार हुनुहुन्छ । सिन्वारकै योजना बमोजिम गत अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा एक हजार २०० इजरायलीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढीलाई अपहरण गरिएको थियो ।

हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.