राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताउनुभयो ।

“अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो । त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन् ।”

सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गर्नुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहोनीले कुशल राजनीतिज्ञ स्व थापा बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्नुभयो । उहाँले अहिलेको अवस्थामा मुलुकलाई सही दिशा दिन सबै राजनीतिक शक्ति एकताबद्ध भएर जानुपर्ने धारणा पनि राख्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंहकेसीले मुलुकको राजनीतिक र प्रशासनिक क्षेत्रमा स्व थापाको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन स्व थापाको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँले अवलम्बन गरेको दृष्टान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले सादगी जीवन, उच्च विचार भएको राजनीतिज्ञ थापाले मधेश र मधेशी जनताको अधिकारका निम्ति बारम्बार आवाज उठाएको स्मरण गर्नुभयो ।

सो कार्यक्रममा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्रा लोकराज बराल, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्लेलगायतले स्वर्गीय थापा एक कुशल राजनीतिज्ञ रहेको चर्चा गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.