शिक्षा समितिमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकमाथि संशोधन राख्ने सांसदहरुले बोल्नुभएको थियो । संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधारआदिबारे स्पष्ट हुनुपर्ने माग गर्नुभयो ।
सांसद प्रदीप पौडेलले डेढ दर्जनभन्दा बढी विश्वविद्यालय रहेको अवस्थामा नेपाल विश्वविद्यालय किन आवश्यक प¥यो भनी प्रश्न गर्नुभयो । अरू विश्वविद्यालयले भन्दा फरक अध्ययन गर्ने के विषय हुन् त्यो पुष्टि हुन नसकेको भन्दै उहाँले व्यावहारिक सीप र दक्षता हासिल गर्ने विश्वविद्यालय आवश्यक भएको बताउनुभयो । सांसद पौडेलले विश्वविद्यालयसम्बन्धी छाता ऐन बनाएर सोही मातहतमा सम्बन्धन दिने व्यवस्था गर्न पनि माग गर्नुभयो ।
सांसद दामोदर पौडेल बैरागीले नेपालमा हाल १७ वटा विश्वविद्यालय रहेको र ती विश्वविद्यालयभन्दा फरक अध्ययन अध्यापन हुने विश्वविद्यालयका रुपमा यसलाई अगाडि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
सांसद प्रेम सुवालले नेपालमा धेरै सङ्ख्यामा विश्वविद्यालय रहेकाले अर्को विश्वविद्यालय किन आवश्यक प¥यो र यसको भौतिक पूर्वाधारको अवस्थाबारे पनि स्पष्ट पार्न माग गर्नुभयो । समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमाथि उठेका विषयमा पुनः छलफल गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धान, गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी शिक्षामार्फत दक्ष, सृजनशील तथा उद्यमशील मानवस्रोत उत्पादन गर्ने विधेयकको उद्देश्य रहेको छ । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो विधेयक सङ्घीय संसद्मा पेस गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.