प्रदेश सरकार परिवर्तनको असर आयोजनामा

विराटनगर- कोशी प्रदेशमा ५ जना मुख्यमन्त्रीले ७ कार्यकाल बिताइसकेका छन् । एउटा मुख्यमन्त्रीले अघि बढाएको प्रदेशको गौरवको आयोजनालाई अर्कोले प्राथमिकता नदिंदा आयोजना नै अलपत्र हुने अवस्थामा पुगेका छन् । यसकै एउटा उदाहरण हो कोशी प्रदेश सरकारको गौरवको आयोजना विराटचोक घिनाघाट सडक ।

राजनीतिक अस्थिरताको मारमा कोशी प्रदेश सरकारको गौरवको आयोजना विराटचोक घिनाघाट सडक समेत परेको छ । करिब २२ किलोमिटर लामो विराटचोक घिनाघाट सडक निर्माण सुरु भएको ४ वर्ष भईसक्दा समेत सम्पन्न हुन सकेको छैन । पटक पटक हुने सरकार परिवर्तनका कारण प्रदेशका महत्वाकांक्षी योजनाको प्रतिफल प्रदेशबासीले महसुस गर्न पाएका छैनन् ।

२०७६ भाद्र २३ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको गौरवको यो सडक खण्ड मध्ये पहिलो र दोश्रो प्याकेज दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । दोश्रो प्याकेज सम्पन्न भएको निकै समय भईसक्दा समेत पहिलो प्याकेज अन्तर्गतको विराटचोक देखि नेता चोक सम्मको १० किलोमिटर सडक खण्डको करिब ८३ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

यसको म्याद थप गरिएको र आउदो अषाढ सम्ममा सम्पन्न भईसक्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रादेशिक सडक पूर्वाधार महाशाखा प्रमुख रमेश कुमार श्रेष्ठले बताउनु भयो ।

तेश्रो प्याकेज अन्तर्गत निर्माण भईरहेको सिंघिया खोलाको घिनाघाट पुल कमसल सामग्री प्रयोग गरिएको पाइएपछि भत्काइएको छ । तेश्रो प्याकेज अन्तर्गतको पुल र सडक निर्माणको कार्य करिब ८३ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्वी भेग संग जोड्ने वैकल्पिक सडकको रुपमा रहेको यो चार लेन सडक करिब १ अरब ७६ करोड लागतमा निर्माण भईरहेको हो । तत्कालिन मुख्यमन्त्री शेरधन राई पछि कोशी प्रदेशमा ५ जना मुख्यमन्त्रीले ७ वटा कार्यकाल बिताईसकेका छन् । एक पछि आउने अर्को मुख्यमन्त्रीहरुले गौरवको योजनालाई गौरव नमान्ने गरेका कारण २२ किलोमिटर सडक र एउटा पुल बनाउन ४ वर्षको समयले पनि नपुग्ने देखिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.