म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द

काठमाडौं- जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बताएका छन् ।

भ्रष्टाचारदेखि कोभिड-१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहनुभएको छ ।

सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उहाँ स्वास्थ्य समस्याले ग्रस्त हुनुभएको बताइएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट घरमा नजरबन्द गरिएको बताउनुभयो । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण अधिकारीहरूलाई कमजोर बन्दीहरूको सुरक्षा उपाय अपनाउन प्रेरित गरेको बताउनुभयो ।

“डा आङ सान सु की र यु विन मिन्टलाई मात्र नभएर केही पुराना कैदीहरूलाई पनि तातो मौसमका कारण आवश्यक हेरचाह गरिएको थियो”, उहाँले भन्नुभयो । राजधानी नेपिडाउमा तापक्रम बुधबार ४१ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ र आगामी सातामा मौसम अझ तातो हुने अनुमान छ । नेपिडाउमा सु कीलाई विशेषरूपमा निर्मित परिसरमा हिरासतमा राखिएको मानिन्छ ।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय केदीलाई रिहा गरिने जुन्ताले बुधबार घोषणा गरेको छ । याङ्गुनको इनसेन कारागारबाहिर करिब दुई सयदेखि तीन सय आफन्त र साथीहरू कैदीहरूको स्वागतका लागि प्रतीक्षा गरिरहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.