धादिङमा चर्चित विद्यालयहरुको समायोजनले अभिभावक र विद्यार्थी आन्दोलित

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेको बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन् । धादिङको चर्चित र ठूलो संख्यामा विद्यार्थी रहेको नीलकण्ठ मावि र बालमन्दिर माविसहित तीन वटा सामुदायिक विद्यालय समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरुले विरोध गरेका हुन् ।

ठूलो संख्यामा विद्यार्थी रहेको बाल मन्दिर माविलाई अर्को विद्यालयमा समायोजन गर्दा विद्यालयको अस्तित्व गुम्ने र शिक्षाको गुणतर खस्किने भन्दै समायोजनको विरोधमा आन्दोलनमा उत्रेका हुन् ।

बालमन्दिर माध्यामिक विद्यालय पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउने अस्तित्वको लडाईमा अभिभावकहरु रहेको बालमन्दिर बचाउ आन्दोलनका अगुवा तथा बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दिपक अधिकारीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा पढिरहेका बालबालिकाहरुलाई निजी विद्यालयमा पठाउने षडयन्त्र रहेको उहाँको भनाई छ । ‘म बालमन्दिर विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष हुँ । तर विद्यालय मर्ज भएको मलाई नै थाहा छैन । म मात्र होइन बालमन्दिर माध्यामिक विद्यालयका धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीलाई जानकारी छैन’ उहाँले भन्नुभयो– ‘कति अभिभावकले छोराछोरीलाई विद्यालयमा भर्ना गर्न जाँदा विद्यालय अन्तै गाभिएको जानकारी पाएँ, सिमित मानिसहरुको राजनीतिका लागि ११ सय विद्यार्थीको भविष्यसँग खेल्न मिल्छ ?’

नीलकण्ठ नगरपालिकाले ११ गतेसम्म विद्यालयलाई समायोजन गरेको निर्णय बदर नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । ‘यदि ११ गतेसम्म दिइएको अल्टिमेटमको समयमा पनि माग पुरा नभए १२ गतेबाट नगरपालिकामा आमरण अन्सन बस्छौं । अन्सन बस्दा भएको क्षति नीलकण्ठ नगरपालिकाले व्यहोर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो– ‘त्यति गर्दा पनि माग पुरा नभए कानुनी ढोका ढकढकाउन बाध्य हुन्छौं ।

आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरी नीलकण्ठ नगरपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय धादिङमा नगरपालिकाले गरेको विद्यालय समायोजनको निर्णय फिर्ता गर्न र गराउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

बालमन्दिर माध्यमिक विद्यालयलाई समायोजन गराउनु उचित नभएको विद्यार्थीहरुको समेत भनाई छ । ‘बालमन्दिर हाम्रो पहिचान हो । बालमन्दिर भनेरै अहिलेसम्म हामी यहि विद्यालयमा पढ्दै आएका छौं । हाम्रो विद्यालयमा जस्तो राम्रो वातावरण अन्त छैन । यहि विद्यालयबाट पासआउट हुन चाहन्छौं- उनिहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.