कोरला नाकामा नेपाल र तिब्बत प्रहरीको संयुक्त पैदलगस्ती

म्याग्दी- हिमालपारीको जिल्ला मुस्ताङ र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा दुवै देशका प्रहरीद्वारा बुधवार संयुक्त रुपमा पैदलगस्ती भएको छ । मुस्ताङ–तिब्बत कोरला नाकाको दशगजा क्षेत्रमा हुन सक्ने अपराधजन्य क्रियाकलाप नियन्त्रण र न्यूनीकरण गर्नको लागि दुवैतर्फका प्रहरी टोलीबाट स्थलगत गस्ती गरिएको हो ।


कोरला नाकाको २४ नम्बर पिल्लरदेखि पश्चिममा पर्ने २३ नम्बर पिल्लरसम्म सीमा क्षेत्रस्थित दशगजामा दुवै देशका सीक्षा क्षेत्रमा रहेका प्रहरीबाट पैदल गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

गस्तीका लागि नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत रहेको इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायव निरीक्षक सुशील लामिछानेको नेतृत्वमा आठजना प्रहरी खटिएका थिए ।


यसैगरी चीनको तर्फबाट सीमास्थित रहेको लिजी प्रहरी कार्यालयबाट कार्यालय प्रमुख सव–इन्सपेक्टर टिसेडर दोर्जीको नेतृत्वमा पनि आठजना प्रहरी खटिएका थिए । दुवै देशका गरी कुल १६ जना प्रहरीको संयुक्त टोलीबाट सीमा क्षेत्रको दशगजामा पैदलगस्ती गरिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
कोरला नाकाको दशगजा क्षेत्रमा गरिएको पैदल गस्तीबाट सीमा क्षेत्रमा हुन सक्ने अपराजन्य क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि सीक्षा क्षेत्रमा दुवैतर्फका प्रहरीबाट पैदलगस्तीको कार्यलाई निरन्तरता दिइने प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.