सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

चितवन- आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिने हरेक नागरिकलाई भत्ता सुविधा दिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले सोको लागि आगामी साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा प्रकाशन गर्ने तयारी रहेकोे बताउनुभयो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “अब सामाजिक सुरक्षा भत्ता मात्र नभइ नागरिकता देखाएर पाइने गरेको सबै सेवा राष्ट्रिय परिचयपत्रको आधारमा दिने सरकारको तयारी छ ।” उहाँले सामाजिक सुरक्षा भत्ता लिने सम्पूर्ण लाभग्राहीको विवरण सङ्कलन तीव्र पारिएको भन्दै राष्ट्रिय परिचयपत्रमा बायोमेट्रिक प्रणाली हुने हुँदा भत्ता वितरणमा भएको अनियमितता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकको वैयिक्तक तथा जैविक विवरण हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिनुका साथै बायोमेट्रिक नमूना लिइएको हुन्छ । हाल ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले क्रमश सबै नागरिकले परिचयपत्र हात पार्ने बताउनुभयो । नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको उहाँले बताउनुभयो ।
चितवनमा हालसम्म वडा तहबाट तीन लाख २५ हजार चार सय ७० र जिल्ला प्रशासन कार्यालयबाट एक लाख १५ हजार सात सय ६१ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका छन् । जिल्लामा हालसम्म २१ हजार कार्ड आइसकेकामा जम्मा पाँच हजार पाँच सय ९६ जनाले कार्ड लगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.