इनार खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति

बारा- बाराको सिम्रौनगढमा मणि महतो नुनियाको निजी पोखरी खन्ने क्रममा सूर्य भगवानको मूर्ति फेला परेको छ । स्थानीय रामेश्वर मेहताका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सानो इटवालमा भगवान सूर्यको मूर्ति फेला परेको हो ।

बुधबार डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो । मूर्तिको तल सातवटा घोडाका आकृति छन, जसले यो सूर्य भगवानको मूर्ति भएको स्थानीयको भनाइ छ ।

फेला परेको मूर्तिको लम्बाई ३६ इन्च र चौडाई १० इन्च रहेको छ । फेला परेको मूर्तिलाई इटवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा लगेर राखिएको छ । मेहताका अनुसार प्राचीन र ऐतिहासिक स्थल सिम्रौनगढमा बेलाका पुरातात्विक सामग्रीहरु फेला पर्दै आएका छन् । त्यही भएकाले त्यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ । उक्त नियमको कार्यान्वयन भने भएको छैन ।

गत वर्षको असारमा मात्रै सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ मा पर्ने नसागराढाटमा पनि ब्रह्मा भगवानको मूर्ति फेला परेको थियो । सिम्रौनगढ क्षेत्रमा गत ७ वर्ष यता १४ वटा मूर्ति फेला परिसकेको छ ।

बेला बेलामा पुरातात्विक महत्वका मूर्ति लगायतका सामग्रीहरु फेला पर्दै आएको भएपनि त्यसको संरक्षणका लागि राज्यको कुनैपनि निकायबाट पहल नभएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.