बागमती प्रदेश विश्वविद्यालय स्थापनाको कार्य प्रारम्भ

मकवानपुर- बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापनाको कार्य प्रारम्भ गरेको छ । आफ्नै विश्वविद्यालय बनाउने लक्ष्यमा अगाडी बढेको प्रदेश सरकारले विश्वविद्यालय सञ्चालनका लागि आइतबार बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ ।

प्रदेश शिक्षा विकास निर्देशनालयको भवनमा राखिएको कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले संविधानले प्रदान गरेको प्रदेश सरकारको आफ्नै विश्वविद्यालय स्थापना गर्न पाउने अधिकार कार्यान्वयनको चरणमा गएको बताउनुभयो ।

प्रदेश विश्वविद्यालयको कार्यालय स्थापना एउटा महत्त्वपूर्ण उपलब्धि रहेको मुख्यमन्त्रीको भनाइ छ । उच्च शिक्षालाई संविधानले प्रदेशको एकल अधिकार सूचिमा राखेको बताउँदै मुख्यमन्त्री जमकट्टेलले प्रदेशल उच्च शिक्षा ऐनले व्यवस्था गरे अनुसार सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको जानकारी दिनुभयो ।

विश्वविद्यालयलाई व्यवस्थित र स्थायित्व दिन नयाँ मोडलमा उच्च शिक्षा ऐन बनाइएको उहाँको दाबी छ । कुनै राजनीतिक हस्तक्षप नहुने गरी बोर्ड अफ ट्राष्टिजको अवधारणा अनुसार विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि लैजाने प्रदेश सरकारको योजना रहेको उहाँले बताउनुभयो ।

शिक्षामा विद्यमान कोटा प्रणालीप्रति असन्तुष्टी जनाउँदै कोटा प्रणाली र प्रवेश परिक्षा लिने प्रवृति विरुद्धमा प्रदेश सरकार रहेको बताउनुभयो । कोटा प्रणाली लागु गरेर निजी कन्सल्टेन्सीलाई सहयोग गर्ने कार्य मात्रै भैरहेको मुख्यमन्त्रीको ठहर छ ।

कक्षा १२ पास गरेपछि पनि प्रवेश परीक्षाको नाममा विद्यार्थीलाई दुख दिने कार्यप्रति मुख्यमन्त्री जमकट्टेलले आक्रोश व्यक्त गर्नुभयो । शिक्षामा आमूल परिवर्तन गनेृ प्रदेश सरकारको नीति रहेको उल्लेख गदै कोटा प्रणाली र प्रवेश परिक्षाको नाममा हुने विकृति विरुद्ध कानुन बनाएर अघि बढ्ने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश विश्वविद्यालयले आवश्यकता र औचित्य पुष्टि गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । प्रदेश विश्वविद्यालयले गुणस्तरीय व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाइ छ । अब बन्ने विश्वविद्यालय विशिष्ट प्रकारको शिक्षा दिने विश्वविद्यालय बन्नुपर्नेमा उहाँको जोड थियो ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश राजधानी हेटौंडामा नै विश्वविद्यालय हुनु जिल्लाबासीको लागी गौरवको विषय रहेको बताउनुभयो । प्रदेश सरकारको आफ्नै विश्वविद्यालय स्थापना हुनु ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भौतिक पुर्वाधार विकासमन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.