पोखरा जोड्ने दुई ठूला राजमार्गमा हिलो र धुलोले सास्ती
पोखरा- पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ ।
पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयवासीले हिलो र धुलोको सास्तीबाट कहिले मुक्ति पाउछन् टुङ्गो छैन ।
‘प्रि-मनसुन’को याम चलिरहेकाले पानी पर्दासाथ सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । सडक स्तरीय नहुँदा पैदलयात्रीसमेत समस्या व्यहोर्न बाध्य छन् । पोखरा-दमौली चल्ने बसका सह-चालक दीपक परियारले सडककै कारण सवारी जामलगायतका समस्या भोग्नुपरिरहेको सुनाउनुभयो । “निर्माणका क्रममा भएकाले सडक ठाउँठाउँमा भत्किएको छ, यात्रामा जोखिम छ”, उहाँले भन्नुभयो, “सडकको काम ढिलो हुँदा यो समस्या धेरै लम्बिने देखिन्छ ।” आउँदो वर्षायाममा पोखरा-मुग्लिङ यात्रा थप कष्टकर बन्ने परियारले बताउनुभयो ।
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्गको दुरावस्थाका कारण पर्यटक आवागमनमा पनि नकारात्मक प्रभाव परिरहेको छ । दुई वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति सुस्त गतिमा हुँदा समस्या निम्तिएको हो । आयोजनाको पूर्वी खण्ड (मुग्लिन-जामुने)मा हालसम्म भौतिक प्रगति ५१ प्रतिशत र पश्चिम खण्ड (जामुने-पोखरा)मा जम्मा १७ प्रतिशत पुगेको जनाइएको छ ।
पूर्वी खण्डको १४ किमि दुरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा पर्ने १७ साना-ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र तीनवटा निर्माणाधीन अवस्थामा रहेका छन् ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो ।
कुल ८१ किमि दुरीको सो सडक एसियाली विकास बैङ्कको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले २२ सय मिटरको हरिचोक–याम्दी सडक दुई वर्ष बित्दासमेत स्तरोन्नति हुन नसकेको बताउनुभयो ।
“हामीले पटकपटक दबाबमूलक कार्यक्रम पनि ग¥र्यौँ, तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गको अवस्था दुर्दशापूर्ण छ, स्थानीयवासी पनि धुलो र हिलोले हैरान छन् । पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले दुई वर्षदेखि उक्त सडकको अवस्था नाजुक रहेको बताउनुभयो । “एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस”, उहाँले भन्नुभयो, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।” ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उहाँले दुःखेसो पोख्नुभयो । सोही सडकका कारण पोखरासम्मको यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ ।
पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । बीचको झण्डै २२ सय मिटर सडक बिस्तार र कालोपत्र गर्न बाँकी रहेको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जनाएको छ । केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भएपनि सडकको भौतिक प्रगति अति न्यून छ । आयोजना कार्यालयले कामलाई गति दिन निर्माण व्यवसायीलाई पटकपटक ताकेका गर्दै आएको छ ।
आयोजनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायत सरोकार भएका पक्षबीचको बैठकमा सडक निर्माण छिट्टै सक्ने प्रतिबद्धता जनाइएपनि कामले गति लिन नसकेको वडाध्यक्ष प्रधानले बताउनुभयो । गत वर्ष साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माणको जिम्मा पाएको थियो । २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दुरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् ।
सडक कालोपत्र नहुँदा धुलो र हिलोको समस्याले स्थानीयवासी पनि आजित भएका छन् । व्यापारमा पनि असर पुगेको जनाइएको छ । सडक साँघुरो र अस्तव्यस्त हुँदा सवारी जामको समस्या उस्तै छ । दुर्घटनाको पनि जोखिम बढेको छ । “मौसमको प्रतिकुलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ”, वडाध्यक्ष प्रधानले भन्नुभयो, “अहिलेकै गतिमा काम भए आउँदो साउनभित्र पनि सडक कालोपत्र हुन मुस्किल पर्ने देखिन्छ ।”
प्रतिक्रिया राख्नुहोस्