धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गर्नुभएको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गर्नुभयो । प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको बेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।
दोस्रो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले बेल घेराउ गरी नाराबाजी गरिरहँदा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।
नाराबाजीका बीच सभामुखले मतविभाजको प्रक्रियाद्वारा मुख्यमन्त्रीले पेश गरेको प्रस्तावलाई बैठकमा निर्णयार्थ पेस गर्नुभयो । यससँगै प्रतिपक्षी नेपाली कांग्रेसका १८,नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक सदस्यले मतदान प्रक्रियामा भाग नलिई बैठकबाट बाहिरिनुभएको थियो ।
प्रदेशसभाबाट विश्वासको मतपाएपछि बैठक कक्ष बाहिर मुख्यमन्त्री सोडारीले एक–दुई दिनभित्र सरकारले पूर्णता पाउन बताउनुभयो । यसअघि आजै प्रदेशसभाको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले आफ्नो ठाउँबाट उठेर विरोध गर्नुभएको थियो । सभामुखले आफ्नो भनाइ राख्न दिएको समयमा प्रतिपक्षी नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकार गठनको प्रक्रियामा प्रश्न उठाउनुभएको थियो ।
आजको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्य प्रतिपक्षी बेञ्चमा र दुई सदस्य सत्तापक्षीय बेञ्चमा बस्नु भएको थियो । सत्तापक्षीय बेञ्चमा बस्नेमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा हुनुहुन्छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख ६ गते नियुक्त हुनुभएको थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले)को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपा र स्वतन्त्र एक–एक सदस्य हुनुहुन्छ ।।
प्रतिक्रिया राख्नुहोस्