विश्वकप क्रिकेट: आयोजक वेस्ट इन्डिज विजयी, नामिबिया र ओमानवीच प्रतिस्पर्धा जारी

काठमाडौँ- वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गएराती सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

पपुवा न्यूगिनीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए । त्यस्तै ब्रान्डन किंगले २९ बलमा ७ चौकासहित ३४ रन जोडे ।

यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५–१५ रन जोडे । पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १-१ विकेट लिए ।

त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४३ बलमा ६ चौका र १ छक्कासहित ५० बनाएका हुन ।

किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २–२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १–१ विकेट लिए । विश्वकप क्रिकेटअन्तर्गत अहिले नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.