नेपाल र नेदरल्यान्ड्सबीचको खेल अब केहीबेरमा

काठमाडौँ- १० वर्षको लामो पर्खाइपछि नेपाल आज विश्व क्रिकेटको मञ्चमा उत्रँदै छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग पहिलो खेल खेल्दै छ ।
अबको केही समयपछि नेदरल्यान्ड्सविरुद्ध अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेल टसका लागि जानेछन् ।

टि-२० विश्वकपमा सर्वाधिक कान्छा कप्तानको कीर्तिमानधारी रोहित टस गर्न जाँदा खेलमा नेपालको एकमात्र लक्ष्य जित हुनेछ । विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदा रोहित टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरका कप्तानको भूमिकामा हुनेछन् ।

यसैगरी नेपालकै गुलशन झाले सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने छन् । मंगलबारको खेलमा सहभागिता जनाउँदा गुलसन १८ वर्षका छन् ।

नेपालले खेल्ने पहिलो खेल हेर्न अमेरिकाको डलासस्थित ग्राण्ड प्रेरी रंगशालामा काठमाडौंको कीर्तिपुर मैदानलाई बिर्साउने गरी नेपाली समर्थक उपस्थित हुने अनुमान पनि गरिएको छ ।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्डले भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स युएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो अवसर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताउनुभयो ।

नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।

प्रतियोगिता अघिको प्रिम्याच कनफ्रेन्समा नेपाली कप्तान रोहितले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली समर्थकलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् ।

नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ ।

पछिल्लो डेढ वर्ष लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त रहेको नेपालको निरन्तर एकै टोली, युवा जोश, फिटनेसमा सुधार र उच्च मनोबल सकरात्मक पक्ष हुन् ।

विदेशी भूमिमा कमजोर प्रदर्शन, ओपनरको खराब लय र डेथ ओभरमा खराब बलिङ नेपालका कमजोर पक्ष हुन् । यी सबै खराव पक्षलाई केलाएको नेपालले आजको खेलमा उत्कृष्ट दिने अपेक्षा गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.