प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा संसदलाई जानकारी गराउन सांसदको माग

काठमाडौँ-  प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ भएको छ । छलफलमा सांसदहरूले आवश्यकता अनुसारको बजेट विनियोजन हुन नसकेको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरू बढिरहेको अवस्थामा स्वदेशमा नै रोजगारी सिर्जना गर्ने र युवाहरूलाई देशमै रोक्ने खालका विशेष योजनाहरू ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले कृषिमा वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने र बजेटले आम किसानलाई समेट्नुपर्ने, १६औँ पञ्चवर्षीय योजना र सरकारको नीति तथा कार्यक्रम र बजेटबिच तादम्यता नमिलेको पनि बताउनुभयो । विद्यालय शिक्षाको गुणस्तर बढाउने गरि बजेट विनियोजन गर्नुपर्ने, विद्यालय शिक्षा आवासीय विद्यालयको अवधारणामा जानुपर्ने भन्दै बजेटले ती विषय समेट्न नसकेको पनि सांसदहरुले बताउनुभयो ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल जारी रहेको छ । त्यसअघी शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्खरै गर्नुभएको भारत भ्रमणका विषयमा संसदलाई जानकारी गराउन सरकारकारसँग माग गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताको विषयमा संसद्लाई जानकारी गराउनु पर्ने भनाई उहाँहरुको थियो । यसैगरि सांसदहरूले पर्सा जिल्लाका विभिन्न ठाउँमा हावाहुरी र असिना पानीले सयौँ घरहरू उडाएको, बाली नाली नष्ट गरेको भन्दै समयमा नै राहत र क्षतिपूर्तिको व्यवस्था गर्नपनि सरकारसँग माग गर्नुभयो ।

उहाँहरुले अछामसहित बाजुरा, कालिकोट, मुगु, हुम्ला लगायतका विकट जिल्लाका बिरामीको उपचार हुँदै आएको बयलपाटा अस्पतालमा प्रदेश सरकारले आवश्यक बजेट नदिएका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेको भन्दै बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । साथै सांसदहरुले गिरीबन्धु टि स्टेट, मेलम्ची खानेपानी, वाइडबडी फोरजी लगायत ठूला भ्रष्टाचारका विषयमा सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.