विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं- आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर-८ को खेलमा अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले गएराती अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै पनि विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे । फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा समेटिएको थियो । नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिकसहित चार विकेट लिए । स्याम करन र आदिल राशिदले २-२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए ।

जितपछि सुपर-८ को समूह २ मा तीन खेलबाट चार अंक बटुल्दै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान २-२ खेलमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अंक छ ।

आज बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्नेछ । अमेरिका भने विना अंक बाहिरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.