गुल्मीमा सत्यवती र छत्रकोट जोडने करोडौंको पक्की पुल प्रयोग बिहिन
गुल्मी – गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–७ र छत्रकोट गाउँपालिका वडानम्बर–१ जोड्ने पक्की पुल प्रयोग बिहिन भएको छ । वषौं लगाएर करोडौं रकम खर्चेर बढिगाड खोलामा बनेको पक्की पुल अहिले प्रयोग बिहिन अवस्थामा रहेको छ ।
रिडी वामिटक्सार मुख्य सडकको चोरकाटे भन्ने स्थानबाट भित्री सडकमा बनेको पक्की पुल प्रयोग बिहिन अवस्थामा छ । पुल निर्माण भएको दुईवर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन् ।
तर पुलबाट जाने सडक निर्माणको काम नहुँदा पुल अलपत्र जस्तै बनेको छ । सत्यवती गाउँपालिको चोरकाटे भन्ने स्थानबाट छत्रकोट गाउँपालिकाको हुँगा तर्फको पुल नजिकै रहेको सडक भत्कीएर अवरुद्ध हुँदा वर्षातको समयमा पनि बन्द अवस्थामा रहेको छ ।
कतिपय स्थानमा पक्की पुल नहुदा कैयौं सवारी साधन र नागरिकले सास्ती खेप्नु पर्ने बाध्यता रहेको छ । तर यहाँ अहिले मध्य वर्खाको समयमा पनि पुल निर्माणको काम सम्पन्न गरेर प्रयोग बिहिन हुँदा आवश्यकता भन्दा फरक स्थानमा पुल तर्क नागरिकको रहेको छ ।
वर्षातको समयमा खोला तर्नका लागि अत्यन्तै आवश्यक पर्ने भएपनि पुल बनेर पनि सञ्चालन ल्याउन चासो नै भएको पाइदैन । हिँउदको सिजनमा पक्की पुल भएर खोला किनारबाट वारिपारि गर्ने काम गरेपनि सडक भत्कीएकाले अहिले पुलबाट आउजाउ बन्द अवस्थामा रहेको छत्रकोट गाउँपालिका वडानम्बर–१ का वडाअध्यक्ष घनश्याम न्यौपानेले बताउनुभयो ।
उहाँले पुल नजिकैको स्थानमा सडक भत्कीएर बन्द अवस्थामा रहेकाले पुल सञ्चालनमा आउन नसकेको बताउनुभयो । पुलको छत्रकोट तर्फको बाटो समयमै काम नहुँदा पुल बनेर पनि प्रयोग बिहिन अवस्थामा पुगेको वडाअध्यक्ष न्यौपानेको भनाइ छ ।
हिँउदको सिजनमा सडक मर्मतको काम गरेर सञ्चालनमा ल्याइने बताउनुभयो । रिडी वामिटक्सार सककको चोरबाटेबाट उक्त पुल भएर हुँगा हुदै भेडुवा अर्को रिडी तम्घास सडकका पुग्न सकिन्छ ।
तर यहाँसम्म पुग्ने सडक साँधुरो र जोखिमपूर्ण रहेको छ । पुल बनेर छत्रकोट तर्फ नयाँ ट्याकको सडक पटकपटक भत्कीने गर्नाले पुल बनेर पनि सञ्चालनमा आउन नसकेको सत्यवती गाउँपालिका वडानम्बर–७ का वडाअध्यक्ष लोकबहादुर बुढाथोकीले बताउनुभयो ।
सत्यवती र छत्रकोट जोडने गरि बढिगाड खोलामा निर्माण भएको पक्की पुल २०७२ साल असार ३१ गते सम्झौता भइ पटक–पटक म्याद थप गरेर २०७९ साल साउन १५ गते निर्माण कार्य सम्पन्न भएको मदनभण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले बताउनुभयो ।
१०५ मिटरको लम्बाई रहेको पुल १४ करोड १७ लाख २४ हजार ४३७ रुपैयाँको लागतमा रसुवा एलिक जेबि काठमाडौंले निर्माण कार्य गरेको हो । पुल निर्माको काम सम्पन्न गरेर सडक डिभिजन कार्यालय पाल्पालाई हस्तातरण भइसकेको पौडेलले बताउनुभयो ।
पुल निर्माणसँगै सडकको स्तर उन्नतीको कामका लागि सडक डिभिजन कार्यालयबाट काम हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्