भारतले जित्यो काभा महिला भलिबलको उपाधि
काठमाडौँ- काभा महिला भलिबलको उपाधि भारतले जितेको छ ।नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।नेपाल उपबेजेता र इरान तेश्रो भएको छ । प्रतियोगिताको आज भएको उपाधि भिडन्तमा नेपाललाई पुनः एकपटक स्तब्ध बनाउदै भारतले उपाधि जित्यो । लिग चरणको भेटमा भारतलाई ३-२ को सेटमा हराएको नेपाल आज कम्तिमा त्यहि नतिजा दोहोर्याउने लक्ष्य सहित कोर्टमा उत्रिएको थियो ।
उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली टोलीका सदस्यले पहिलो सेट २५-२३ ले जित्दै भारत विरुद्ध १-० को अग्रता बनाउन सफल भए । तर दोस्रो सेटमा नेपालको त्यहि स्तरको प्रदर्शन हुन सकेन जसले गर्दा दोस्रो सेट भारतले सहजै २५-१४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटको सुरुवात देखिनै लयमा फर्किएको नेपालले २५-२२ ले जित दर्ता गर्दै २-१ को अग्रता बनायो । चौथो सेट जितेमा नेपालले उपाधि जित्ने भएकोले भारत सुरुदेखि नै दवावमा थियो । तर दवावकैबीच भारतले २५-२१ ले चौथो सेट जित्दै खेल २-२ को बराबरीमा पुर्याए पछि खेल पाँचौ सेटतर्फ धकेलियो ।
निर्णायक पाँचौ सटमा भने भारतसामू नेपालको प्रदर्शन निकै कमजोर देखियो । सुरूवात देखि नै पछि परेको नेपालले कमब्याक गर्न नै सकेन र नेपाललाई मात्र ५ अंकमा रोकेर भारतले पाँचौ सेट १५-५ ले आफ्नो बनाउदै समग्रमा ३-२को नतिजा सहित उपाधि जित्यो । भारतलाई हराउदै उपाधि जितेर इतिहास रच्ने नेपाली महिला भलिवल टोलीको सपना यो पटक पनि पुरा हुन सकेन् ।
खेलाडीसंगै नेपाली खेलाडीलाई हौशला दिन त्रिपुरेश्वरस्थित कभर्ड हल भित्र र बाहिर जम्मा भएका साथै प्रत्यक्ष प्रसारण मार्फत खेल हेरिरहेका सबै नेपाली समर्थक स्तब्ध भए । प्रतियोगितामा आजै तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै इरान तेस्रो भयो ।
प्रतिक्रिया राख्नुहोस्