म्याग्दीमा २२ हजार केजी मह उत्पादन

साउन –  म्याग्दी– व्यावसायिक मौरीपालनको उच्च सम्भावना रहेको हिमाली जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा २२ हजार केजी मह उत्पादन भएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाभर कुल २२ हजार केजी अर्थात् २२ मेट्रिक टन मह उत्पादन गरिएको हो ।

जिल्लाको विभिन्न स्थानमा मौरीपालक किसानहरुले सुरु गरेको मौरीपालन व्यवसायबाट मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाभर सञ्चालनमा रहेका ११ सय ओटा मौरीका घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो । एउटा घारबाट वार्षिक सरदरमा २० देखि २५ केजीसम्म मह उत्पादन हुन्छ ।

कृषि ज्ञान केन्द्रमार्फत किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम तथा गोष्ठी प्रदान र बिउ पुँजीलगायत सेवासुविधाको सहयोग भएपछि वर्षेनी मौरीपालक किसान र मह उत्पादनमा वृद्धि हुने गरेको छ । गतवर्ष म्याग्दी जिल्लाका दुईवटा समूहलाई ग्रामीण पोषण प्रवद्र्धन कार्यक्रममार्फत ९० प्रतिशत अनुदानमा ३७ वटा मौरी गोलासहितको घारलगायत सहयोग गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो । मौरीपालनतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्र र स्थानीय तहले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

म्याग्दीमा बेनी नगरपालिकाको ज्यामरुककोट, बास्कुना, पुलाचौर, अर्थुङ्गे, घतान, पात्लेखेत, मंगला गाउँपालिकाको कुहुँ, धवलागिरिको मल्कबाङ, मालिकाको विम, रघुगंगाको भगवती र पिप्ले तथा अन्नपूर्णको शिख र घार मौरीपालनको पकेट क्षेत्र मानिन्छन् । यीमध्ये यसअघि बेनीको ज्यामरुककोट र पुलाचौर तथा मंगलाको कुहुँ क्षेत्रलाई मौरी स्रोतकेन्द्रको रुपमा विकास गरिएको थियो । परम्परागत रुपमा मुढे र खोप्पे घारको सट्टा आधुनिक घारमा व्यावसायिक मौरीपालन गरेमा मह उत्पादनमा वृद्धि भई आम्दानी पनि बढ्ने कृषि ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।

म्याग्दीमा हाल १५ देखि २० जनाको संख्यामा मात्रै व्यवसायिक रुपमा मौरीपालन गरेका किसानहरु रहेका छन् । कतिपय किसानहरु वैदेशिक रोजगारीबाट फर्किएपछि मौरीपालन व्यवसायमा सक्रिय छन् । म्याग्दी जिल्लामा उत्पादन भएको मह विदेशी मुलुकहरु जापान, कतार, साउदी, बहराईनसम्म पुग्ने गरेको मौरीपालक किसानहरु बताउँछन् । विदेशका ती देशमा जाने प्रवासी म्याग्देलीहरुले मह पुर्‌याउने  गरेका छन् । यसका साथै म्याग्दी घुम्न आएका विदेशी पर्यटकले समेत मह खरिद गरेर लैजाने गरेको मौरीपालक किसान बताउँछन् ।

तीन दशकदेखि व्यावसायिक मौरीपालन गर्दै आएकी सुजता ग्रुप प्रालि डडुवाका सञ्चालक सुजता खत्रीले गतवर्ष मौरीपालन व्यवसायबाट करिब चारलाख रुपैयाँ आम्दानी गरेको अनुभव सुनाउनुभयो । उहाँले गएको वर्षमा प्रतिकेजी १७ सय रुपैयाँको दरले दुईसय केजीभन्दा धेरै मह बिक्री गरेको जानकारी दिन्भयो । डडुवामा उत्पादित मह म्याग्दीसहित बाहिरी जिल्लामा बिक्री भएको थियो । मौरीपालन व्यवसाय गर्दै आएका किसानहरुले मह, मौरी, महका पोला तथा मौरीसहितका घारहरु बिक्री गर्ने गर्दछन् ।

म्याग्दीमा पछिल्लो समय व्यावसायिक तरिकाले आधुनिक घारमा मौरीपालन गरिएको भए पनि गाउँघरमा अझै परम्परागत तरिकाको मुढेघार तथा खोप्पे घारमा समेत मौरी पाल्ने गरिएको छ । मौरीपालन व्यवसाय र मह उत्पादनको हिसाबले म्याग्दी उपयुक्त जिल्ला मानिन्छ । स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिने मह पूजाआजामा समेत विशेष रुपमा प्रयोग गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.