निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष ढकाल

काठमाडौं – उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयलाई महत्त्व दिएर निजी क्षेत्रले दिएका सुझावहरू कार्यान्वयन हुँदै गएको बताउनु भयो । अन्य मुलुकमा निजी क्षेत्रलाई समेटेर सँगै गएको बेला नै आर्थिक समृद्धि र विकासले गति लिएको बताउनु भयो । उहाँले निजी क्षेत्रका मागहरू सम्बोधन गर्ने देशहरूले नै छोटो समयमा विकास गरेको बताउनु भयो । उहाँले अहिले आफूहरूले सरकारलाई निजी क्षेत्रका मागहरू सम्बोधन गर्न आग्रह गरेको र जसमा सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रका मागहरूमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सकारात्मक रहेको तर कर्मचारीतन्त्रमा पनि सोही सकारात्मकता हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई प्रमोट गर्ने कुराहरूको जुन इस्युहरु छ । निजी क्षेत्रले दिएका सुझावहरू वास्तवमा क्रमशः लागू गर्दै जाने हो भने छोटो समयमा धेरै चिजहरूको एउटा रिजल्ट लिन सकिन्छ । बाहिरतिर हेर्ने हो भने विदेशमा जहाँ आर्थिक समृद्धिको कुराहरू, विकासको कुराहरू भएको छ, त्यो जहाँ निजी क्षेत्रलाई इन्करेज गरेको छ, निजी क्षेत्रलाई प्राथमिकता दिएको छ, निजी क्षेत्रका जायज इस्यु सम्बोधन भएको छ, त्यो देशमा छोटो समयमा द्रुत विकास भएको छ । हामीले अहिले सरकारलाई, सरकार अन्तर्गतका निकायलाई पनि वास्तवमा त्यहीअनुसार सुझाव दिएका छौँ । यसमा के देखिएको छ भने सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग मन्त्रीलाई हामीले भेट्दा हाम्रो मागमा उहाँहरू पोजिटिभ हिसाबले लागिपर्नु भएको छ । तथापि डाउन द लाइन अझै पूरै उहाँहरूको पोजिटिभ हिसाबको कमिटमेण्ट पूरा गर्न तलदेखिकै मेकानिजम सकारात्मक हुनुपर्छ ।’
मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको जस्तो देखिए पनि उत्साही हुन नसकिएको बताउनु भयो । अध्यक्ष ढकालले बैङ्कको ब्याजदर घट्दा कर्जा प्रवाह उल्लेख्य हुन नसक्नु अझै वित्तीय असुरक्षाको शङ्का गर्ने ठाउँ बाँकी रहेको बताउनु भयो । यस्तो अवस्थामा निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउनु भयो । अध्यक्ष ढकालले सबै सकारात्मक हुने हो भने देश विकासले गति लिने र असुरक्षाको अवस्था हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्