मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलित

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाले राजश्व दरमा वृद्धि गरेकामा विरोध जनाउँदै मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलित बनेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को लागि घरवाहल करदेखि विभिन्न व्यवसायमा लिंदै आएको करमा १६ देखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेपछि संघले विरोध जनाएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार नै सोमबार भएको व्यवसायी भेला एवम् पत्रकार सम्मेलनमा बोल्नुहुँदै संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले उपमहानगरले अनाधिकृत रुपमा राजश्वको दरमा बृद्धि गरेर व्यवसायीलाई थप धरासयी बनाउन खोजेको आरोप लगाउनुभयो ।

राजश्वको दरलाई यथास्थितिमा कायम गर्न पनि संघले माग गरेको छ । अध्यक्ष अग्रवालले माग सम्बोधन नभएमा दोस्रो चरणमा सडक र न्यायिक दुबै ढंगबाट आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबार बढाइएको कर नतिर्न व्यवसायीलाई आह्वान गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दलका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी मार्फत् संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने र बुधबार हस्ताक्षर संकलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा शान्तिपूर्ण धर्ना दिने, विभिन्न स्थानमा कालो व्यानर राखेर विरोध जनाउने निर्णय भएको छ ।

यस्तै बिहीबार हेटौंडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने तयारी भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । शुक्रबार र्‍यालीसहित स्वतस्फुर्त रुपमा व्यवसाय बन्द गरी उपमहानगरपालिकामा चावी बुझाउने संघको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.