पहिरोले अवरुद्ध बेनी-जोमसोम खुल्यो, बेनी-दरबाङ सडक अझै बन्द

म्याग्दी- गएराति परेको वर्षासँगै खसेको पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध बनेको बेनी-जोमसोम सडक साँझदेखि खुलेको छ ।

मुस्ताङलाई जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रको विभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्डमा खसेको पहिरो बेनी-जोमसोम-कोरला सडक योजनासँगको समन्वयमा जेसिभी मेसिन परिचालन गरी पहिरोको अवरोध पन्छाएपछि सडक पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डको कुनौटे, महभीर, गुँईठेभीर, सुकेबगर र भूरुङभीर क्षेत्रमा पहिरो खसेर सडक बन्द भएको थियो । वर्षात्‌को समयमा यो सडकखण्डको म्याग्दी खण्डमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

पहिरो पन्छाएर सडक खुलेपछि बीच सडकमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । उत्तर र दक्षिणको छिमेकी मुलुकहरु चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकलाई नेपालको सबैभन्दा छोटो दूरीको सडक मानिन्छ ।

यता पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडकखण्ड भने अझै खुलेको छैन । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउेभीर तथा मालिका-६, दरबाङको बाङ्गेभीर भन्ने ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको भए पनि मंगला-२, सिम र लाम्पाटामा पहिरोको अवरोध कायमै रहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन पहल गरिए पनि पहिरोको जोखिम रहेकाले पहिरो पन्छाएर सडक खुलाउन समस्या भैरहेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि दरबाङसम्म कुल २४ किलोमिटरको दूरी रहेको बेनी-दरबाङ सडकखण्डमा खसेको पहिरोले लामो तथा छोटो दूरीका लागि छुटेका सवारीसाधन बीच सडकमै रोकिएका छन् । यो सडकले पश्चिम म्याग्दीको मंगला-मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने काम गर्छ ।

म्याग्दीको पश्चिम भेगका तीनवटा पालिका हुँदै जलजला–गूर्जाघाट-ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी-दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ । छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरुले समेत बेनी-दरबाङ सडकको रुट प्रयोग गर्ने गर्दछन् ।

बागलुङ-बुर्तिबाङ भएर पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा छोटो दूरी पर्ने भएकाले म्याग्दीको बेनी–दरबाङ सडकलाई लिने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.