भारतीय कम्युनिष्ट नेता सीताराम येचुरीको निधन

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको (आज) बिहीबार निमोनियाका कारण निधन भएको छ ।
उहाँलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उहाँलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु) मा स्थानान्तरण गरिएको थियो ।
सिपिआई (एम) का नेता हन्नान मोल्लाले भन्नुभयो, “सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।”
उहाँले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज हुनुहुन्थ्यो भन्नुभयो ।
बहत्तर वर्षीय येचुरीको आज दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ ।  परिवारले उहाँको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।
बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहनुभएका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्नुभएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ हुनुहुन्थ्यो । यसबाहेक उहाँले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुभएको थियो ।
यसैबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।
‘वामपन्थको अग्रणी ज्योति’– प्रधानमन्त्री मोदी
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले येचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अनुभवी नेता येचुरीलाई ‘वामपन्थको अग्रणी ज्योति’ भन्नुभएको छ । उहाँले भन्नुभयो, “यो दुःखद् घडीमा म उहाँको परिवार र शुभचिन्तकहरूको साथमा छु ।”
सामाजिक सञ्जाल एक्समा गर्नुभएको पोस्टमा प्रधानमन्त्री मोदीले येचुरीमा राजनीतिक स्पेक्ट्रमसँग जोडिन क्षमता थियो भन्दै उहाँले प्रभावकारी सांसदका रूपमा आफ्नो छाप छाड्नुभएको बताउनुभयो ।
राष्ट्रपति द्रौपदी मुर्मूले पनि दुःख व्यक्त गर्दै सिपिआई (एम) का महासचिवको आवाज भिन्नै र प्रभावशाली थियो भन्नुभयो ।
आइडिया अफ इन्डियाका रक्षक– राहुल गान्धी
लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै उहाँले भन्नुभयो, “सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक ।”
  “दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना”, उहाँले पोस्ट गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.