अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ – विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जित हासिल गरेको छ ।

टोरोन्टोमा स्थानीय टोलीसँगको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

२ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडे।

नेपालका लागि ललितनारायण राजवंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै करण केसी र कुशल मल्लले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडे ।

कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१ गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जगुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २ तथा जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माले समान १ विकेट लिए ।

विश्वकप लिग–२ को आफ्नो दोस्रो श्रृंखलामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुने छ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा नेपालले ६ असोजमा क्यानडाको सामना गर्दा ८ असोजमा ओमानसँग खेल्ने छ ।

सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा हुने छ । ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी–२० सिरिज खेल्ने कार्यतालिका रहेको छ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.