नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौँमा

काठमाडौं- नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौँमा सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति-निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय होटलको नेतृत्ववर्ग, सेवा प्रदायकलगायत यस क्षेत्रसँग सम्बन्धित करिब दुई सय सरोकार भएकाको सहभागिता रहेको सङ्घले जनाएको छ ।

कन्क्लेभको उद्घाटन गर्दै होटल सङ्घका अध्यक्ष विनायक शाहले आतिथ्यता क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप, रणनीति तथा विचारको आदानप्रदानका लागि यो कार्यक्रमले साझा मञ्च प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले होटललगायत पर्यटकीय पूर्वाधारको उपयोग गरेर व्यावसायिक लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलको वर्तमान अवस्था, समस्या तथा चुनौती, नयाँ चालचलन एवं अभ्यास, नवप्रवर्तन, सहकार्य, सूचना प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारीलगायत विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

होटल सङ्घ नेपाल हान र विभिन्न संघसंस्थाको आयोजनामा भएको नेपाल हस्पिटालिटी कन्क्लेभले होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उद्योगको बारेमा बुझाइ र भोगाइसँगै आगामी दिनमा अगाडि बढ्ने रणनीति बनाउने विश्वास लिइएको छ ।

सम्मेलनबाट उठेका विषयवस्तु समेटेर प्रतिवेदन तयार पारी सरकारी तथा सम्बन्धित निकायमा बुझाइने होटल सङ्घले जनाएको छ । कन्क्लेभ आजपनि जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.