नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

काठमाडौँ –  विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो । आगामी माघ ११ गतेदेखि सार्वजनिक हुने उक्त चलचित्रमा प्रसिद्ध अभिनेता दयाहाङ राईलगायतका कलाकारसँग गोलकिपर सुब्बाले मुख्य पात्र बनेर अभिनय गरेकी छिन् । चलचित्रको पोष्टरमा गोलकिपर सुब्बाले बल समाइरहेको तस्बिर छापिएको छ ।

हिजो काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन । खेलमा प्रतिस्पर्धा, तनाव, विवादास्पद अवस्था, रोमाञ्चकारी क्षण तथा सुखद अनुभूतिजस्ता अनुभव दर्शकहरुले गरेका थिए । राति अबेरसम्म फुटबल प्रतियोगिता हेरेपछि नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट अवकाश प्राप्त पूर्वप्रधानाध्यापक दीपक कपालीले नेपाल र भारतबीचको फुटबल प्रतियोगिता कुनै चलचित्र हेरेजस्तै रोमाञ्चकारी लागेको टिप्पणी गरेका छन् ।

लिग चरणमा समूह विजेता बनेपछि चिर प्रतिस्र्धी भारतसँगको प्रतिस्पर्धालाई नेपाली दर्शकहरुले निकै महत्व दिएका थिए । घरेलु मैदानमा हजारौँ नेपाली फुटबलप्रेमीहरुको उपस्थितिमा खेल्न पाउनु नेपाली फुटबल खेलाडीहरुका लागि महत्वपूर्ण अवसर थियो । नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले सन् २०२२ मै भारतलाई नेपालले हराए पनि प्रतिस्पर्धीसँग सतर्क भएर खेल्नुपर्ने बताएका थिए । उनी नेपालको टिममा दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट स्ट्राइकर भएकामा ढुक्क थिए । भारतीय प्रशिक्षक सन्तोषकुमार कष्यप भने सधैँ खाली रङ्गशालामा खेल्ने गरेका महिला खेलाडीहरुले आज भरिभराउ रङ्गशालामा खेल्न पाएकामा खुसी देखिन्थे । विगतमा महिला फुटबल प्रतियोगिताहरुमा दर्शकहरुको उपस्थिति कमै हुने गरेको थियो । तर करिब १५ हजार दर्शक क्षमताको दशरथ रङ्गशाला हिजो खचाखच भरिएको थियो । यसबाहेक टेलिभिजन प्रसारण तथा सामाजिक माध्यम युट्युबका माध्यमबाट पनि लाखौँ फुटबलप्रेमीहरुले यो खेल हेरेका थिए ।

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पाँचपटक जितिसकेको भारत तथा उक्त प्रतियोगितामा पाँचपटक नै उपविजेता बनेको नेपालबीचको हिजोको फुटबल खेल पूर्वाद्र्ध अवधिमा प्रतिस्पर्धात्मक रुपले अघि बढेको थियो । दुवै पक्षबाट गोल आफ्नो पक्षमा गर्ने प्रयास गरेता पनि सफलता भने मिलिरहेको थिएन । यस अवधिमा भारतीय खेलाडीहरुले बढी फल खेलेको देखिएको थियो ।

भूटानी रेफ्रीको निर्णय

मध्यान्तरपछिको ५१औँ मिनेटमा भूटानी रेफ्री ओम चोकीले नेपालकी स्ट्राइकर रेखा पौडेललाई दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट बाहिर निकालेपछि खेल तनावपूर्ण हुन सुरु भएको थियो । रेखा नेपाली फुटबल टिमकी पहिलो रोजाइकी स्ट्राइकर हुन् । यसपालिको प्रतियोगितामा उनले नेपाली खेलाडीहरुमध्ये सर्वाधिक सात गोल गरिसकेकी थिइन् । युएईमा क्लबमा आबद्ध भई व्यावसायिक खेल खेलिरहेकी उनलाई निकाल्ने रेफ्रीको निर्णयपछि दर्शकहरु आक्रोशित बनेका थिए । त्यसपछि रङ्गशालामा सुरक्षाकर्मीहरु बढाइएको थियो । स्ट्राइकर रेखा पौडेलले अब नेपालले बङ्गलादेशसँग खेल्ने फाइनल खेल गुमाउनेछिन् ।

रेखालाई मैदानबाट निकालिएपछि खेल केही बेर अवरुद्ध बनेको थियो । १० खेलाडीमा सीमित नेपाली पक्षलाई ७२औँ मिनेट भारतीय टिमकी सङ्गीता बासफोरले गोल गरेकी थिइन् । त्यसको लगत्तै नेपाली पक्षका तर्फबाट प्रिती राईले गोल गरे पनि रेफ्री ओम चोकीले मान्यता नदिएपछि खेल पुनः करिब एक घण्टा १५ मिनेट रोकिएको थियो । यसअघि दशरथ रङ्गशालामा यसरी लामो अवधिसम्म खेल रोकिएको उदाहरण छैन । जाडोयाममा रातिको समयमा लामो समयसम्म खेल रोकिए पनि फुटबलप्रेमीहरु आ–आफ्नो स्थानमा नै रहिरहेका थिए । रेफ्री चोकीले सुरुमा गोल भएको सङ्केत गरे तापनि सहायक रेफ्री र फोर्थ अफिसियलको सङ्केतअनुसार गोललाई मान्यता नदिएपछि विवाद बढेको थियो । नेपाली खेलाडीहरुले खेल्न नमानेपछि उनीहरुलाई मनाउन फुटबल पदाधिकारीहरुले धेरै प्रयास गरेका थिए । नेपाली टिमले खेल पुनः सुरु नगरे कारबाही गर्न सकिनेसम्मको जानकारी साफ च्याम्पियनसिपका सम्बन्धित अफिसियलहरुले दिएपछि नेपाली टिम पुनः खेल्न मञ्जुर भएको नेपाली प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिएका छन् ।

खेल पुनः सञ्चालन भएलगत्तै नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले गोल फर्काई आफ्नो टिमलाई बराबरीको स्थितिमा लग्न सफल भएकी थिइन् । दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये मानिएकी उनले गोल गरेर मुलुकको शिर उँचो त बनाइन् तर गोल गरेको जोसमा मैदान बाहिर निस्किएर टिसर्ट खोलेकामा रेफ्री चोकीबाट पहेँलो कार्ड ब्यहोर्न बाध्य बनिन् । खेलको निर्धारित समयमा एक–एक गोल भई बराबरीमा टुङ्गिएपछि समय नथपेर गराइएको ‘टाइब्रेकर’मा नेपालले भारतलाई दुई गोलका विरुद्ध चार गोलले पराजित गरी फाइनलको ढोका खोलेको थियो ।

टाइब्रेकरका लागि दुवै पक्षले गोलकिपर समेत परिवर्तन गरेका थिए । भर्खरै मैदान प्रवेश गरेकी नेपाली गोलकिपर अन्जना रानामगरले दुईवटा पेनाल्टी बचाएर मुलुकलाई जिताउन महत्वपूर्ण भूमिका निभाएकी थिइन् । साँझ ६ बजेर ३० मिनेट जाँदा सुरु भएको उक्त फुटबल तीन घण्टाभन्दा बढी चलेको थियो । खेल समाप्त हुँदा रातिको झन्डै १० बजिसक्दा पनि पनि दर्शकहरु प्यारापिटको सिटबाट नउठेर नेपाली टिमको जितमा खुसियाली मनाइरहेका थिए ।

भूटानसँगको त्यो बराबरी

सातौँ साफ महिला च्याम्पियनमा नेपालको पहिलो खेलनै बिग्रेको थियो । विगतमा पराजीत गर्दै आएको भुटानलाई कुनै गोल गर्न नसकी पराजीत गर्न नसकेकामा नेपाली टिमले आलोचना पनि ब्यहोर्नुपरेको थियो । नेपाललाई भूटानी टिम भारी साबित हुन पुगी लिग खेल गोलरहित अवस्थामै टुङ्गिएको थियो । सो खेलमा नेपाली खेलाडीहरुले टिममा खेल नखेली व्यक्तिगत खेलेकाले गोलरहित खेल ब्यहोर्नुपरेको स्वयम् नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पत्रकारहरुलाई बताएका थिए ।

विगतको तुलनामा भूटानले खेलमा सुधार गर्दै गएको कुरामा कुनै शङ्का छैन तापनि नेपाल र भूटानबीचको खेलमा नेपाली खेलाडीहरु वास्तवमै स्वार्थी भएको देखिएको थियो । प्रशिक्षक तामाङ खेलाडीहरु स्वयम्ले गोल बन्ने गरेर नायक बन्ने होडमा लागेको स्पष्ट पारेका थिए ।

गोलको वर्षा

सातौँ महिला साफ च्याम्पियनसीपको लिग चरणमा नेपालले माल्दिभ्स विरुद्धको खेलमा गोलको वर्षा नै गरेको थियो । नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ११ गोलले पराजित गरेको थियो । रेखा पौडेलले पाँच गोल, प्रिती राईले तीन गोल तथा सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक÷एक गोल गरेका थिए । खेलाडी रेखा पौडेल युएईमा व्यावसायिक फुटबल खेलिरहेको अवस्थामा राष्ट्रिय टिमबाट आबद्ध हुन स्वदेश फर्की टिममा सामेल भएकी थिइन् ।

यसअघिका महिला साफ च्याम्पियनसिपका प्रतियोगिताहरुमा पनि नेपालले माल्दिभ्स, पाकिस्तान जस्ता देशलाई अत्यधिक गोल गरेको थियो । नेपालले लिग चरणमै श्रीलङ्कालाई शून्यका विरुद्ध छ गोलले हराएको थियो । यस खेलमा रेखा पौडेलले दुई गोल गरेकी थिइन् भने सविता रानामगर, सावित्रा भण्डारी, अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक÷एक गोल गरी नेपालीलाई लिगको समूह विजेताका रुपमा सेमी फाइनलमा प्रवेश गराउन योगदान गरेका थिए ।

भोकै तयारी

यो प्रतियोगिताको सिलसिलामा आफू एक हप्ता रोएरै तनावमा बसेको नेपाली टिमकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले बताएकी छिन् । भूटान विरुद्धको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टिमकी स्कोकर सावित्राको अनुपस्थितिलाई पनि कारण मानिएको थियो । उनी फ्रान्समा स्थानीय क्लबका तर्फबाट फ्रान्सेली लिग खेल्न गएकी थिइन् । उनले त्यहाँ पनि गोल गरेकी थिइन् । उनी फ्रान्सदेखि नेपालमा साफ च्याम्पियनसिप खेल्न आएकी थिइन् । माल्दिभ्स विरुद्धको खेलको अघिल्लो राति मात्र उनी काठमाडौँ आइपुगेको अवस्थामा पनि उनलाई प्रशिक्षकले तयारी अवस्थामा राखेका थिए । दक्षिण एसियाकै उच्चकोटीकी स्कोरर मानिएकी साम्बाले सन् २०१६ को साफ च्याम्पियनसिपमा कूल १२ गोल गरेर प्रतियोगिताकै धेरै खेलाडी बन्न सफल भएकी थिइन् ।

फ्रान्सबाट स्वदेश फर्कने क्रममा विमानमा खानेकुरा नखाएर जुस मात्र पिएर आएको अवस्थामा पनि प्रशिक्षक तामाङले साम्बालाई खेलको उत्तराद्र्ध अवस्थामा मैदानमा उतार्ने लक्ष्यले बेन्चमा राखेका थिए । तर नेपालका तर्फबाट माल्दिभ्सविरुद्ध मध्यान्तरअघि नै चार गोल भइसकेपछि उनलाई मैदानमा उतार्ने अवस्था आएन । भारत विरुद्धको महत्वपूर्ण खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि सावित्रा भण्डारीले पाएकी थिइन् । उनले दर्शकहरुको अपार मायाका कारण नै नेपाली महिला फुटबल टिमले सफलता प्राप्त गरेको धारणा व्यक्त गरेकी छिन् ।

अब बुधबार बङ्गलादेश विरुद्धको फाइनलमा सावित्रासहितका नेपाली महिला फुटबल टिमसँग आबद्ध खेलाडीहरुले साफ च्याम्पियनसिप उपाधि पहिलोपटक मुलुकलाई दिलाउन अझ उत्कृष्ट योगदान दिने अपेक्षा नेपाली फुटबलप्रेमीहरुले गरेका छन् । गत छैटौँ महिला साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशसँग एक गोलका विरुद्ध तीन गोलले पराजय भोग्नु परेको पीडा नेपाली महिला खेलाडीहरुले भुलेका छैनन् । (लेखक खेल पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.