युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ ।  गैर आवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौँ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण लाई सोमबार सम्बोधन गर्दै मन्त्री चौधरीले भन्नुभयो, ’युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदै छ । तपाईँहरूको केही कुरा राख्न सकिन्छ ।’

मन्त्री चौधरीले युवाहरू बिदेसिने क्रम बढेको बताउनुभयो । ’जनसङ्ख्याको ४२ प्रतिशत युवा छ । तीनै तहमा ४५ प्रतिशत युवाहरू राजनीतिमा काम गरिरहेका छन् । त्योभन्दा बढी युवाहरू दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । कोही पढ्न, कोही रोजगारीको सिलसिलामा गइरहेका छन् । १२ कक्षा पास गरिसकेपछि म विदेश जान्छु भन्ने धारणा छ । स्नातक तहमा विद्यार्थी अभाव छ । निकट भविष्यमा शिक्षकहरूको अभाव हुने अवस्था आउँदै छ । विदेशी शिक्षकहरू ल्याएर पढाउनुपर्ने बाध्यता देखिँदै छ,’ उहाँले भन्नुभयो ।  यद्यपि नेपाली युवाहरू आइटीमा अगाडि बढेको र नेपालमै खर्ब हाराहारी आम्दानी गर्नु सुखद भएको बताउनुभयो ।

मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रही फरक फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता, पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताउनुभयो । ’डायस्पोराले उद्यमशीलता, स्थानीय अर्थतन्त्रको विकासमा पनि मद्दत पुर्‍याउन सक्छ । यसका लागि राज्यले सहज लगानीको वातावरण, कर छुट नागरिकताको सहज व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।
भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न सकिने र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा योगदान लिन सकिने मन्त्री चौधरीले बताउनुभयो  ।

मन्त्री चौधरीले खेलकुदका पूर्वाधारको विकास, ज्ञानको परीक्षण र आदान प्रदानमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो । यसका लागि राज्यले नीतिगत कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । ’नेपालमा खेलकुद पूर्वाधारहरू छैन । एनआरएनका साथीहरूले यसमा ध्यान दिनुहोला । एनआरएनका लगानीकर्तालाई खेलकुदमा, पूर्वाधार विकासमा, तालिममा सहयोग गर्न आह्वान गर्दछौँ,’ उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले निकट भविष्यमा खेलकुद सद्भावना दूत एनआरएनकै तहबाट राख्न लागेको र चाँडै मन्त्रिपरिषद्बाट निर्णय गरिने जानकारी दिनुभयो ।

पूर्व कानुनमन्त्री एवं एमाले नेता पदम गिरीले नयाँ पुस्तालाई नेपालको राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरुरी रहेको बताउनुभयो । ’यसमा विलम्ब नगरी छिटोभन्दा छिटो नीतिहरू ल्याउनुपर्छ । राज्यले गम्भीरतापूर्वक लिनुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रवासी नेपाली युवाहरूले हासिल गरेको ज्ञान, सीप, क्षमता, पुँजी भित्र्याउन वातावरण बनाउन राज्यका तर्फबाट छिटो र फराकिलो दायराका साथ काम गर्नुपर्ने भन्दै उहाँले त्यो हुन नसकेको बताउनुभयो । ’राज्यका अड्चनका कारण दोस्रो पटक फर्केर आउन समय लाग्ने अवस्था छ । यसमा राज्य गम्भीर हुन जरुरी छ,’ उहाँले भने । सरकारले संवेदनशील भएर योजनाहरू बनाउनुपर्ने, थिंक ट्याङ्कहरूबाट अध्ययन गराएर युवाहरू नेपालको समृद्धिमा जोड्न बृहत् अध्ययन गर्नुपर्ने गिरीले बताउनुभयो ।

नेपालको शिक्षा क्षेत्रमा प्रवास रहेको गुणस्तरीय पुस्तालाई जोड्न योजना बनाउन जरुरी रहेको बताउँदै यसले सबै क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । आफू स्वास्थ्य मन्त्री हुँदा प्रवासमा रहेका युवाहरूसँग छलफल गर्दा ६ महिनासम्म स्वयंसेवक भएर काम गर्न तयार छौँ भनेर आएको भन्दै यसमा डायस्पोरालाई जोड्न राज्य चुकेको बताउनुभयो । यो कुरामा प्राथमिकताका साथ ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

पर्यटनका लागि नेपालको उच्च सम्भावना रहेको भन्दै उहाँले बुद्ध जन्मेको देश भनेर चिनाउन अपिल गर्नुभयो । ’सगरमाथाको देश, हिमचुलीहरूको देश, आराध्य देव भगवान् पशुपतिनाथको देश भनेर प्रचार गर्न सकिएको छैन । त्यसमा तपाईँहरू लाग्नुस् । डायस्पोरा एम्बास्डर हो । प्रवर्द्धनमा राज्यले उपयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

आइटी सेक्टरमा पनि डायस्पोराले थुप्रै प्रगति गरेको भन्दै यसलाई अझै विकास गर्नुपर्ने धारणा राख्नुभयो । आधुनिक कृषिमा डायस्पोरालाई जोड्न नीतिहरू अनुकूल नभएको भन्दै नीतिमा परिमार्जन गरेर सम्भावनाहरू अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा उत्पादन भएका गार्मेन्ट, कृषि उपजजस्ता वस्तुहरू विश्व बजारमा पुर्‍याउन एनआरएनएको भूमिका हुने उहाँको भनाइ थियो । विदेश बसाइँ सराइ स्वाभाविक भएको र मान्छे अवसर खोज्दै हिँड्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । संसारका युवा नेपाली भित्र्याउन र उनीहरूको पुँजी भित्र्याउन सोच्नुपर्नेमा गिरीले जोड दिनुभयो ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि मानव सभ्यताका लागि बसाइँ सराइ नियमित प्रक्रिया भएको बताउनुभयो । राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उहाँको भनाइ छ । ’पोजेटिभ इटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ,’ उहाँले भन्नुभयो  । सिस्टम ब्रेक गरेर नेपालीहरू विश्वभर फैलिएको भन्दै वेटर सिस्टमका लागि बल लगाउनुपर्ने बताउनुभयो । यसका लागि पनि सकारात्मक धारणा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । ’नेसल बिल्डिङभन्दा अगाडि परिवारको युनिटीको विकास गरौँ । सबैले दसैँमा एकै ठाउँमा टिका लाउने वातावरण बनाऊ । जसले पोजेटिभ भाइब्स ल्याउँछ । त्यसपछि राष्ट्र निर्माणको कुरा आउँछ,’ उहाँले भनिन् ।

बाध्यताले छोराछोरी विदेश पठाउने र गएकाहरू देश आइदिए हुन्थ्यो भन्ने धारणाको तादात्म्य मिलाउन जरुरी रहेको उहाँले बताउनुभयो  । झाँक्रीले विमानस्थलको भिडको स्वाभाविक भएको बताउनुभयो । ’२५ सय मान्छे जाँदा २५ सय मान्छे लिएरै आउँछ । बिजनेस हो । देशै रित्तियो भन्ने होइन,’ उहाँले भनिन् । नेपालमा रिभर्स माइग्रेसनको बेला भई नसकेको उहाँको भनाइ थियो ।

’रिसिभ कन्ट्रीको अवस्था र तपाइहरू आउने अवस्थाको तालमेल नभई रिभर्स माइग्रेसन हुँदैन । यद्यपि बहस जारी राखौँ । यदि नेपालमा बृहत् लगानी भयो ।  त्यसबाट रोजगारी सिर्जना भयो । अर्थतन्त्र भाइब्रेन्ट जनशक्तिहरू आउने कुरा होला । अहिले त्यो अवस्था छैन ।’

उहाँले एनआरएनलाई च्यारिटीभन्दा धेरै मुनाफा हुने कामहरू गर्न सुझाव दिनुभयो । एनआरएनको पहिचानसहित सम्भावना भएको क्षेत्रमा साझा रूपमा लगानी गरिएमा रोजगारी सिर्जना हुने र यसले युवाहरूलाई आकर्षित गर्ने झाँक्रीको भनाइ थियो । ’यो रियालिटीमा काम गर्‍यौ भने अबको १०÷१५ वर्षमा अवस्था परिवर्तन हुनसक्छ,’ उनले भनिन्, ’कानुनका कुराहरू, भावनाका कुराहरू गर्दै जाऊ ।’

प्रवासमा नेपालीहरू विभाजित हुन नहुने झाँक्रीको भनाइ थियो । ’डायस्पोराहरूले नेपालको रिप्रजेन्ट गरौँ । पार्टी, जाति हेरेर नबसौँ,’ उहाँले भन्नुभयो, ’अस्ति प्रधानमन्त्रीको अमेरिका भ्रमणमा जे भयो त्यो राम्रो भएन । कुनै पार्टीको होइन देशको प्रधानमन्त्री हो । हरेक नेपालीको प्रतिनिधित्व हो । खिसीटिउरी हुनु सम्पूर्ण नेपालीकै अपमान हो । यसमा ध्यान दिऊ । पोजेटिभ एटिट्युटमा ध्यान दिऊ । लगानीको वातावरण बनाऊ । यसो भयो भने सेकेन्ड जेनेरेसन नेपालमा ल्याउन सकिन्छ ।’

काँग्रेस नेता एवं कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विमानस्थलको भिड खुसीको कुरा भएको बताउनुभयो । ’इकोनोमिक मोबिलिटीलाई सकारात्मक रूपमा लिँदै छौ कि नेगेटिभ रूपमा ?’ उहाँले सोध्नुभयो । नेपालको हरेक सुख दुखमा साथ दिने प्रवासी नेपालीलाई देशमा आउँदा गरिने व्यवहारमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । कार्कीले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप र पुँजीलाई भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिनुभयो । ’७० लाख नेपालीका सन्तानलाई नेपालको विकासमा ल्याउन सकियो भने समृद्धिमा टेवा पुग्छ,’ उहाँले भन्नुभयो ।

एमाले युवा नेता अब्दुस मियाले बसाइँ सराइ प्राकृतिक प्रक्रिया भएको बताउनुभयो । निरङ्कुश शासनमा पासपोर्ट नपाइने अवस्थामा अहिले नेपालीहरू संसारभर प्रतिस्पर्धाको ठाउँमा पुगेको उहाँको भनाइ थियो ।  विकासशील देशमा स्तरोन्नतिका लागि नेपाललाई बनाउन दक्ष युवा जनशक्ति चाहिएको बताउनुभयो ।

’प्राविधिक, आर्थिक विकास, जागिर र उद्यम सिर्जना गर्न सक्ने, संसारको विकास र प्रविधिसँग सञ्चार र प्रतिस्पर्धा गर्न सक्ने र त्यहीअनुसार नेपाललाई दौडाउन सक्ने जनशक्ति चाहिएको छ,’ उहाँले भन्नुभयो, ’देशमै बसेका युवालाई बढी माया लाग्ने र बाहिर गएर बस्नेलाई कम माया लाग्ने हुँदैन । उतिकै माया र प्राथमिकतामा राख्छौ । विभिन्न बाध्यताले युवाहरू त्यहाँ पुगेका हुन् ।’

नेपालको विकासमा कसरी जोडिन सक्ने, हाम्रो भूमिका के हुने भनेर डायस्पोराका नेपाली युवामा भेटेको उहाँले बताउनुभयो ।

नेपालले श्रम र लगानी जुन आकारमा विकास गर्न सक्थ्यो त्यसमा अझै काम गर्नुपर्ने उहाँको भनाइ थियो । यसले आर्थिक विकासमा टेवा पुग्ने उहाँले धारणा राख्नुभयो ।

नेपालको आर्थिक विकासका लागि कुनै ठाउँ छ भने त्यो टेक इन्टरप्राइजेज भएको उहाँले बताउनुभयो । थोरै मेहनत गर्‍यौ भने संसारसँग प्रतिस्पर्धा गर्न खालको टेक फर्म विकास गर्न सकिने भन्दै उनले यसमा ठुलो सम्भावना रहेको बताउनुभयो ।

अर्को पर्यटन प्रवर्द्धनमा डायस्पोराका युवाहरूको भूमिका हुने उहाँले बताउनुभयो । ’जति पनि डायस्पोरामा छन्, उहाँहरू टुरिजम एम्बास्डर बन्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयो, ’तपाईँहरूले आफ्नो अफिसमा कलिङलाई भन्न सक्नुहुन्छ । सोसल मिडियामा नेपाल घुम्न जाऊ भन्न सक्नुहुन्छ । यसरी प्रवर्द्धन गर्न सकिन्छ ।’

नेपाल बनाउने र अघि बढाउने दायित्व नेपाल र बाहिर बस्ने सबै नेपालीको भएकाले मिलेर जानुपर्ने मियाले बताउनुभयो ।

एनआरएन नेपाली युवा समिरा केसीले आधा नेपाली र आधा विदेशी भएर बाँचेका आफूहरूलाई एनआरएनएले नेपालसँग जोड्ने काम गरेको बताउनुभयो । प्रवासी नेपाली युवाहरू मातृभूमिलाई आफ्नो सिप क्षमता सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो ।

एनआरएन युवा उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरूको सीप क्षमता र पुँजी ल्याउने दोहोरो हुनुपर्ने बताउनुभयो । नयाँ पुस्तासँग भोट र नोटको अपेक्षा नगर्न उहाँले सुझाव दिनुभयो ।
राष्ट्र निर्माणमा प्रवासी युवाहरूको एकीकरण सत्रको सञ्चालन एनआरएनए युरोप संयोजक प्रसुना कँडेलले गर्नुभएको थियो ।

खेलाडीलाई नगदसहित सम्मान

गैर आवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खेलाडीहरूलाई सम्मान गरेको छ । गैर आवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ का अवसर राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सम्मान गरिएको हो ।

प्यारा ओलम्पिकमा पदक विजेता पलेसा गोवर्धनलाई खेलकुद मन्त्री तेजुलाल चौधरी र एनआरएन युवा उपाध्यक्ष रोशन थापाले ३० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । समारोहमा प्लेशाका बुवाका प्रदीप गोवर्धनले पुरस्कार ग्रहण गर्नुभएको थियो ।

कराँतेमा प्रथम एसियन रजत पदक विजेता एरिका गुरुङलाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

अस्ट्रियाको भियनामा सम्पन्न गुरोरियो कराँतेको कातातर्फ स्वर्ण पदक विजेता एनआरएनका खेलाडी एनोज महर्जनलाई २० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा एमाले नेता पदम गिरी, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री, एमालेकै अब्दुस मियाँ, काँग्रेसका केदार कार्की उपस्थित थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.