पर्यटन प्रवर्द्धन गर्न प्रमुख पर्यटकीय स्थलमा क्याबिनेट बैठक राख्छौंः मुख्यमन्त्री
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न मन्त्रीपरिषद्का बैठक राख्ने योजना रहेको बताउनु भएको छ ।
सोमवार लुम्बिनी केबलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरू प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्ने गरी सरकारले योजना बनाएको बताउनु भयो ।
‘पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको वसन्तपुर, पाल्पाको रानी महल, प्युठानको स्वर्गद्वारी लगायतका महत्त्वपूर्ण स्थलहरूमा घुम्तीरुपमा मन्त्रीपरिषद्को बैठकहरू राख्ने योजनामा छौंं’-मुख्यमन्त्री आचार्यले भन्नुभयो-यस प्रकारको बैठकले पर्यटन क्षेत्रमा सबैको ध्यान केन्द्रित हुने छ ।
प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन,कृषि र उद्योग भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रूपमा विकास गर्ने योजनामा रहेको मुख्यमन्त्री आचार्यले बताउनु भयो ।
निजी लगानीमा बुटवलमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकारको दिगो सञ्चालनका लागि भारतीय पर्यटक भित्राउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।
भारतीय पर्यटक भित्राउन प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकार सँग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भयो ।
प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्र सँग हातेमालो गर्न सरकार सधैँ तत्पर रहेको बताउनु भयो ।
केबलकार अवलोकनसँगै मुख्यमन्त्री आचार्यले वसन्तपुरमा रहेको प्रख्यात शक्ति पीठ कामाख्यादेवी मन्दिर दर्शन समेत गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्