बडी केदार धाममा भव्य  मेला लाग्ने

डोटी –  सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडी केदार धाममा कार्तिक २७,२८ र २९ गते तीन दिन भव्य  मेला लाग्ने भएको छ ।

डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान  फुड्सिल  गाउँपालिकाको सङ्गम स्थलको रूपमा रहेको बडी केदार धाममा  २७ र २८ गते मेला लाग्नुका साथै २९ गते पूजन कार्य हुने बडी केदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र राज सिराडिले बताउनु भएको छ ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदारधामको दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

बडिकेदार धाममा तीन चार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन् ।

समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।

किंवदन्तीअनुसार परापूर्व कालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडी केदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन । त्यही बेलाबाट कार्तिक चतुर्दशीका बेला बडी केदार धाममा पूजाआजा हुने गरेको स्थानीय बताउँछन् ।

बडी केदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडा सम्म सवारी साधन मार्फत पुग्न सकिन्छ । पार्किङ स्थलबाट करिब सवा १ घण्टाको पैदल यात्रामा बडी केदार धाममा पुग्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.