नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गर्ने
काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा आगामी मङ्सिर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ एनपिएलको प्रत्यक्ष प्रसारण खेलकुद सम्वन्धि अन्तर्राष्ट्रिय टिभी च्यानल स्टार स्पोर्ट्सले गर्ने भएको छ ।
एनपिएलका प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गर्ने सम्वन्धमा क्यान र स्टार स्पोर्ट्सबीच सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभएको छ ।
एनपिएलको प्रत्यक्ष प्रसारणबारे जानकारी दिन आज क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव खड्काले स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरिएको जानकारी दिनुभएको हो । सचिव खड्काले एनपिएलको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक रहने पनि जानकारी दिनुभयो ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको क्रिकेट लिग किर्तीपूर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता आयोजनाका लागि त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन काम भइरहेको पनि क्यानले जनाएको छ ।
प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा फ्रेञ्चाइज टोलीले सहभागिता जनाउँदै छन् ।
सहभागी प्रत्येक टोलीले चार जनासम्म विदेशी खेलाडी अनुवन्ध गराउन पाउने नियमानुसार टोलीहरुले धमाधम विदेशी क्रिकेटरहरुलाई पनि समावेश गराइरहेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्