समय अगावै भवन निर्माण
डडेल्धुरा – केही निर्माण व्यवसायीले सम्झौता मितिमै योजना सम्पन्न नगर्दा कयौँ योजना अलपत्र परेका उदाहरण प्रशस्तै छन्। कतिपय योजना अधुरा छन् भने केही योजना लथालिङ्ग अवस्थामा छन् । तर, केही निर्माण कम्पनी यस्ता पनि छन्, जसले सम्झौता मिति अगावै योजना सम्पन्न गर्छन् । यसको एउटा उदाहरण हो, ‘जिल्ला निर्वाचन कार्यालय डडेलधुराको भवन।’ किरण पासा मष्टा जे.भि. कैलालीले निर्माण सम्झौताको दुई महिना दिन अगावै उक्त भवन निर्माण सम्पन्न गरेर उद्घाटन समेत भएको छ । मुल्य अभिबृघ्दि करसहित २ करोड, ७४ लाख७९ हजार पाँच सय ९७ रुपैयाँमा उक्त भवन निर्माण सम्पन्न गरिएको निर्माण कम्पनीका सञ्चालक गणेश बहादुर विष्टले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भवन निर्माणका लागि २०८० असार १८ गते सम्झौता भएको थियो भने निर्माण सम्पन्न मिति २०८१ कार्तिक मसान्त सम्म गरेको छ । तर, सम्पन्न मितिको दुई महिना अगावै निर्माण कम्पनीले भवन निर्माण सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुनाकर अवस्थीले जानकारी दिनु भयो ।
कार्यालयको भवनसँगै कार्यालय प्रमुखका लागि आवास तथा गेस्ट हाउस, विद्युतीय कोठा, क्याबिन, पार्किङसमेत निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । ‘हामीले इमानदारीताका साथ काम गर्ने हो,’ सञ्चालक विष्टले भने, ‘सम्झौता भएपछि बेइमानी त गर्नु भएन नि।’ लगातार वर्षाका बिचमा पनि आफूले समय अगावै भवन निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक बिस्टको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्