त्रिवेणी कप १२ पौष देखि सुरु हुने, विजेताले १२ लाख पाउने

लमजुङ – लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुसको १२ गतेदेखि सुरु हुने भएको छ । बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आयोजना गर्दै आएको त्रिवेणी कपको ३२ औँ शृङ्खलामा आई पुग्दा पुरस्कार राशि पनि वृद्धि भएको छ ।
गत वर्ष विजेताको लागि आठ लाख रुपैयाँ पुरस्कार रहेको त्रिवेणी कपको उपाधि यस वर्ष चार लाख रुपैयाँ वृद्धि गरी पुरस्कार राशि १२ पुर्याईएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । उपविजेताले गत वर्ष चार लाख रुपैयाँ पाएका थिए ।
प्रतियोगितामा सेमीफाइनल उपविजेता दुई टिमलाई दुई÷दुई लाख रुपैयाँ दिइने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । सो बाहेक अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५÷२५ हजार नगद पुरस्कार सहित पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष घिमिरेको भनाई छ । यसै गरी क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरिने आयोजकले जनाएको छ ।
क्लबले यस वर्ष प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता निःशुल्क गरेको छ । आमन्त्रित क्लब र स्थानीय क्लब गरी १६ टिममा सीमित गर्ने योजना बनाएको क्लबले आमन्त्रित टिमलाई क्वाटर फाइनलबाट सहभागी गराउने भएको छ ।
पुरस्कार राशि सहित प्रतियोगिता सञ्चालनको लागि मात्र ८४ लाख ९० हजारको अनुमानित खर्च सार्वजनिक गरेको क्लबले आमन्त्रित टिम व्यवस्थापनमा मात्रै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
यसै गरी क्लबले १५ पुस अर्थात् तमु ल्होसारका दिन त्रिवेणी साँझ आयोजना गर्ने भएको छ । विगतका वर्षहरूमा झैँ क्लबले यस वर्ष बेसीशहर ७ मनाङ्गेचौतारामा त्रिवेणी साँझ र सडक खाना महोत्सव गर्ने भएको हो । यसका लागि अनुमानित १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । आयोजकले त्रिवेणी कप र त्रिवेणी साँझ सञ्चालनको लागि कुल अनुमानित खर्च ९४ लाख ९० हजार रुपैयाँ सार्वजनिक गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्