‘गोरखा भ्रमण बर्ष २०२५’ को कार्यतालिका सार्वजनिक
गोरखा- गोरखा नगरपालिकाले घोषणा गरेको ‘गोरखा भ्रमण बर्ष २०२५’ को कार्यतालिका सार्वजनिक गरिएको छ । आइतवार पत्रकार सम्मेलन गरेर नगरपालिकाले कार्यतालिका सार्वजनिक गरेको हो ।
भ्रमण बर्षलाई सफल बनाउन बिभिन्न योजनाहरु ल्याइएको नगर प्रमुख कृष्ण रानाले बताउनुभयो । धार्मिक, शैक्षिक र खेल क्षेत्रलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
नगरभित्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको पहिचान गर्ने काम भइसकेको पनि उहाँले जानकारी दिनुभयो । ‘५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरेका छौँ, उहाँले भन्नुभयो- ‘अब गोरखा आउने सबै पर्यटकलाई कार्यतालिका उपलब्ध गराउँछौ र घुम्न प्रोत्साहन गर्छौं ।
प्रमुख रानाका अनुसार आँवुखैरेनीदेखि गोरखा बजारसम्मको सडकखण्डमा क्यूआरकोड सहितको ‘स्ट्रिट नम्वर’ राख्ने तयार भइरहेको छ, पर्यटकीयस्थल जाने शाखा बाटोहरुमा ‘स्ट्रिट नम्वर’ राख्न लागिएको हो ।
त्यहाँ राखिने क्यूआरकोड स्क्यान गर्दा त्यहाँबाट पुगिने पर्यटकीय स्थल र त्यसको महत्वको बारेमा विवरण प्राप्त गर्न सकिने बताइएको छ । माघ महिनाभित्र यो काम सम्पन्न गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले सूचना केन्द्र स्थापनाको तयारी पनि थालेको छ । बसपार्कनजिकै रहेको बहुउदेश्यीय भवनमा केन्द्र स्थापना गर्ने पनि प्रमुख रानाले बताउनुभयो ।
पर्यटन बोर्डको समन्वयमा सातवटै प्रदेशमा ‘जाउ है गोरखा’ कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ । हाइकिङ र ट्रेकिङ गर्न चाहने पर्यटकलाई आवश्यक सहयोग र समन्वय गरिने भनिएको छ । हाइकिङ र ट्रेकिङका लागि नगरपालिकाले तीन वटा रुट समेत तय गरिसकेको छ ।
बिभिन्न जिल्लाका पर्यटकीय शहरसँग सहकार्यका लागि पर्यटकीय संजाल बनाइने भएको छ । आदित्यनाथ योगीको उपस्थितीमा बिश्वका नाथ योगीहरुको सम्मेलनको तयारी समेत नगरपालिकाले गरेको छ । यसका लागि पर्यटन बोर्डसँग आवश्यक समन्वय भइरहेको बताइएको छ ।
भ्रमण बर्षका लागि नगरपालिकाले स्टिकर र ब्याच निर्माण समेत गरेको छ । पर्यटकका लागि बिशेष सहुलियतको व्यवस्था हुने बताइएको छ । भ्रमण बर्षको लागि ‘गोरखा जहाँ इतिहास जिवित छ’ भन्ने नारा तय गरिएको छ ।
भ्रमण बर्षमा पर्यटन मेलाको आयोजना समेत गरिने नगर प्रमुख रानाले जानकारी दिनुभयो । यो अवधिभर जिल्लामा संचालन हुने बिभिन्न कार्यक्रमहरुमा समेत नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ । प्रदेश र राष्ट्रियस्तरका कार्यक्रम नगरभित्र संचालन गरेमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्