विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाउन विभिन्न उपाय गरेपनि अझै करिब १२ दशमलव ७३ प्रतिशत विद्युत चुहावट भैरहेको छ ।
प्राधिकरणमा आठ वर्षअघिसम्म २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा अझैपनि अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न नसकिएको जनाएको छ ।
गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैया नाफा कमाएको प्राधिकरण २०७२/७३ मा एकै वर्षमा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । विगत आठ वर्षमा प्राधिकरणले विद्युतीकरणमा ठूलो सफलता हात पारेको पनि जनाएको छ ।
आव २०७२/७३ मा ५८ प्रतिशत विद्युतिकरण भएकोमा अहिले ९९ प्रतिशत पुगेको छ । प्राधिकरणले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरणमा विशेष ध्यान दिएको पनि जनाएको छ ।
यस्तै, उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । सुधारकै कामका कारण इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्