रवि लामिछाने अदालतमा उपस्थित हुँदै

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनु हुने भएको छ ।

जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि उहाँ अदालतमा उपस्थित हुन लाग्नु भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उहाँलाई प्रतिवादी बनाइएको छ ।

मंगलबार बुद्ध एयरलाइन्सबाट भैरहवा आइपुग्नु भएका लामिछाने ११ बजे अदालतमा उपस्थित हुने बताइएको छ । लामिछाने अदालतमा हाजिर भएपछि उहाँको बयान हुनेछ र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।

हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा हुनुभएको छ । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उनी थुनामुक्त हुनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.