‘लिगलिग पालुङटार महोत्सव–२०८१’ माघ २४ गतेदेखि सुरुहुने
गोरखा -गोरखाको पालुङटारमा ‘लिगलिग पालुङटार महोत्सव–२०८१’ हुने भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा यहीँ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष मानवहादुर आलेले आज पालुङटारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कृषि, पर्यटन र हस्तकलाको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । ‘‘पालुङटारमा रहेको लिगलिगकोटलगायतका स्थान ऐतिहासिक दृष्टिकोणले आफैमा महत्वपूर्ण छ, अध्यक्ष आलेले भन्नुभयो, ‘‘यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले महोत्सवमार्फत यहाँ पर्यटन प्रर्वद्धन गर्ने हाम्रो लक्ष्य छ ।’’
त्यस्तै महोत्सवमार्फत स्थानीय कृषि उत्पादनको बजारीकरणका साथै पालुङटार करिडोर क्षेत्रमा उत्पादित हस्तकलाका सामाग्रीको प्रर्वद्धन गरिने उहाँले बताउनुभयो । कृषि र हस्तकलाका स्टलहरुमा गोरखासहित आसपासका क्षेत्रमा पर्ने तनहुँको भानु नगरपालिका र लम्जुङको राइनस नगरपालिकामा भित्र उत्पादित कृषि उत्पादन एवं हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्री गरिनेछ ।
महोत्सवकै अवसरमा स्थानीय कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन र प्रर्वद्धनका लागि रत्यौली गीत तथा नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिताको समेत आयोजना गरिने अध्यक्ष आलेले जानकारी दिनुभयो ।
त्यस्तै किसानलाई हौसला प्रदान गर्नका लागि कृषि प्रर्दशनीमा उत्कृष्ठ किसानलाई सम्मानसमेत गरिनेछ । महोत्सवमा २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान महोत्सव सम्पन गर्नका लागि बिभिन्न २५ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्