सौराहामा पर्यटक प्रवर्द्धन गर्न खाना महोत्सव सुरु
सौराहाको सफारी पर्यटन विश्वमै उत्कृष्ट : मन्त्री ठकुरी

रत्न नगर – चितवनको पर्यटकीय नगरी सौराहामा मङ्गलवार देखि १९औँ सौराहा फुड फेस्टिभल (खाना महोत्सव) सुरु भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिभलको बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले सौराहाको सफारी पर्यटन विश्वमै उत्कृष्ट रहेको बताउनुभयो । सौराहा बागमती प्रदेशको एक मात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाइमा पुर्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
सौराहाको पर्यटन मार्फत प्रदेशको आर्थिक अवस्था मजबुत बनाउँछौँ । लोक संस्कृति मार्फत पर्यटनको विकास गर्न सकिने भन्दै उहाँले सौराहाको विकासको लागि गुरुयोजना बनाएर काम गर्न सरकार तयार रहेको बताउनुभयो । चितवनमा १५३ वटा योजनामा २० करोड रुपैयाँ विनियोजन भएर काम सुरु भई सेकको भन्दै उहाँले त्यसमा पर्यटन विकासका योजना समेत समावेश गरिएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री जगन्नाथ थपलियाले सरकारले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न नसकेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो । तेस्रो पर्यटकीय गन्तव्य भनियो तर पर्यटकीय गन्तव्य घोषणा गर्न सकिएन् उहाँले भन्नुभयो। उहाँले सौराहा जोगाउन प्रदेश सरकारले लोथर ड्याक निर्माणको लागि १८ करोड विनियोजन गरी ठेक्का प्रक्रियामा रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री कृष्णप्रसाद खनालले सौराहाको दीर्घकालीन विकासको लागि सरकारी स्तरबाट बृहत् पर्यटन विकास समिति, निकुञ्ज ऐनको खारेज गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गलत स्थानमा छत्री स्टेट निर्माण भएको भन्दै त्यो दीर्घकालीन नहुने उहाँले बताउनुभयो ।
रेवानका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले पर्यटनको पर्यटन उद्योगको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले भैरहवा, पोखरा र चितवनको विमानस्थलको स्तरोन्नती गरी हवाई टिकटको मुख्य घटाउनु पर्ने बताउनुभयो ।
रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहाको पर्यटन विकासका लागि सरकारी स्तरबाट गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभयो । सौराहाको पर्यटन खुम्चिएको छ उहाँले भन्नु भयो यसको दायरा बढाउने गरी गुरुयोजना निर्माण गरेर काम गर्नु पर्छ ।
फेस्टिभलका संयोजक शम्भुप्रसाद मालीले सौराहामा पर्यटक भित्र्याउन फुड फेस्टिबल आयोजना गरिएको भन्दै फेस्टिभलले सौराहा ४० प्रतिशत पर्यटक वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारी, वडा नं ७ का वडाध्यक्ष सजना महतो, सोही वडाका निवर्तमान अध्यक्ष तथा रेवान सौराहाका पूर्व अध्यक्ष राजन भट्ट, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गंगा गिरी, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको फुड फेस्टिभल उद्घाटन पूर्व सौराहामा बृहद शोभा यात्रा निकालिएको थियो । फेस्टिभललाई भव्य बनाउन व्यवसायीले सौराहालाई सिंगारिएको छ । फेस्टिभल स्थललाई रंगिचङगी बनाइएको छ । फेस्टिभलका सहसंयोजक कृष्ण भट्टले पर्यटकको स्वागतका लागि सौराहालाई सिँगारेर रंगिचङगी बनाइएको बताउनुभयो ।
“प्राकृतिक सौन्दर्ययता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिभल सुरु भएको हो । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जात जातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासस्कृति÷भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको सहसंयोजक भट्टले बताउनुभयो ।
फागुन ३ गते सम्म चल्ने फेस्टिभलमा बहुल जातजातिहरूको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर÷वेटरेस बिच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, रक्तदान कार्यक्रम, ब्याडमिन्टन प्रतियोगिता हुने छ ।
९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभल अवधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड सम्म कारोबार हुने अपेक्षा गरिएको छ । फेस्टिभल अवलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिनुभयो ।
रत्न नगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटेल सङ्घ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिभल अवधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरेका छन् । रेवानका महासचिव नेपालले सञ्चालन गरेको उद्घाटन कार्यक्रम अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्