नगरकोट भ्रमण वर्ष सफल पार्न उपत्यका मेयर्स फोरमको चासो

 भक्तपुर –  सुन्दर एवं पर्यटकीय क्षेत्र नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।

चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न फोरमको बैठकमा सहभागी बागमतीका मुख्यमन्त्री, मन्त्रीहरू, नगर प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिको बैठकले आगामी वैशाख १ गतेदेखि हुने भ्रमण वर्षलाई तीनै तहका सरकारले सफल पार्न जोड दिएका हुन् ।

नगरकोट नेपालकै शान भएकाले पनि नगरकोट भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारले आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रतिबद्धता जनाउनु भयो ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले यसकालागि निरन्तर सहकार्य हुनु पर्ने धारणा राख्नु भयो । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन प्रवर्द्धनका लागि पनि नगरकोट भ्रमण वर्ष सफल पार्नु पर्नेमा जोड दिनु भयो । पर्यटन प्रवर्द्धनबाट अबको अर्थतन्त्र सबलीकरण हुने उहाँको जिकिर छ ।

बैठकले समृद्ध मुलुक निर्माणमा पर्यटनले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमका माध्यमबाट चिनाउने अवसर, परिचर्चा, चर्चा र बहसको खाँचो रहेको नगर प्रमुखहरूको तर्क छ । भ्रमण वर्ष सफल पार्न मेयर्स फोरमलगायत प्रदेश सरकारलाई चाँगुनारायण नगरपालिकाले सबैलाई निमन्त्रणा दिएको छ ।

नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई बागमती प्रदेशका साथै मुलुकको पहिचान र पर्यटकीय गन्तव्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई नगरकोटको बसाई लम्ब्याउन पर्यटन वर्ष सफल हुने विश्वास उपमेयरहरूको छ ।

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न बैठकमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरूसहित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.