सुरु भयो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

दाङ- प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गर्नु भयो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रङ्गशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भन्नु भयो, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।
’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ ।
क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौँ बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताउनु भयो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ । देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबिच खेल भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्