पर्यटन मन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबिच भेटवार्ता

बृहत्तर बुद्ध सर्किट, सिधा हवाई उडान र धार्मिक पर्यटन सञ्जाल निर्माणमा जोड 

काठमाडौँ-  कम्बोडिया भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण , सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गर्नुभएको छ ।

कम्बोडियाका पर्यटन मन्त्री हु अट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मङ्गलवार भएको भेटका क्रममा मन्त्री पाण्डेले सो सम्भावना बारे छलफल गर्नु भएको हो ।

कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा उहाँले आफू कम्बोडियमा उत्रने बित्तिकै नेपालमा जस्तै सडकका कुना कुनामा गणेश भगवान् का मूर्तिहरू दर्शन गर्न पाएको उल्लेख गर्दै दुई देशबिच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि  भविष्यमा सहकार्य गर्न सकिने विषयमा छलफल गर्नु भएको थियो ।

भेटमा भगवान् बुद्धको नेपालमा जन्म भए पनि कम्बोडियामा द्रुत रूपमा बुद्ध धर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्न सके बुद्ध जन्मस्थलमा कम्बोडियाली धार्मिक पर्यटकले सहज भ्रमण गर्न सक्ने बताउनु भएको थियो ।

भेटवार्ताका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भन्नुभयो, कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् ।

उहाँले नेपाल र कम्बोडियो युद्ध र सङ्घर्षको अवस्थाबाट गुज्रिएको स्मरण गर्दै कम्बोडियाले द्वन्द्वत्तोर विकासमा गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनु भएको थियो ।

नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरबाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ ।

दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल गर्नुभएको  छ। नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठुलो सुधार गर्न सकिने विषयमा दुवै पक्ष सहमत हुनुभएको छ । यसका साथै, बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।

मन्त्री पाण्डेले कम्बोडियाको एसिया क्षेत्रको सबैभन्दा ठुलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै भन्नुभयो, यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउने बताउनुभयो । उहाँले नेपालमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा उडान भर्ने वायुसेवा कम्पनीहरूलाई विशेष सहुलियतसहितको व्यवस्था पछि ती सञ्चालनमा आएको प्रसङ्ग उल्लेख गर्नुभयो  ।

कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारी स्तरीय टोली गठनको आवश्यकतामा जोड दिनुभयो।

कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ । अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिबद्धता जनाएको छ । यस भेटघाटले दुवै राष्ट्रका बिचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि एक नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.