भक्तपुर – नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा धार्मिक पर्यटनलाई सगसगै लैजाने उद्देश्य अनुरूप भक्तपुरको चाँगुनारायणमा शिव पुराण महायज्ञ सञ्चालन गरिने भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ कलमसी क्षेत्रमा अवस्थित १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणाधिन स्थलमा महायज्ञ हुने भएको हो । महायज्ञ २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म हुने छ ।
महायज्ञ संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागेको जानकारी गराए । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने योजना तयार रहेको बताए ।
महायज्ञ तयारी मूल समारोह समितिका सचिव बद्रीप्रसाद नेपाल, प्रवक्ता यादवप्रसाद अधिकारी, व्यास गुरुहरू रामचन्द्र तिमल्सिना, हरिचन्द्र तिमल्सिना लगायतले महायज्ञका विविध पक्षहरूबारे चर्चा गर्नुभएको थियो ।
कल्पेश्वर महादेव नगरकोट भ्यु टावरबाट नजिकै रहेको छ । पर्यटकको चाप हुने बोजिनी ड्याम्प नजिकै छ । यहाँबाट काठमाडौँ उपत्यकालगायत नाला, बनेपा धुलिखेलसम्मका दृश्य अवलोकन गर्न सकिन्छ । प्रसिद्ध कलमसी क्षेत्रमा अवस्थित १०८ फिट कल्पेश्वर महादेव निर्माणाधिनस्थल चाँगुनारायण नगरपालिका वडा नं ८, ९ र बनेपा नगरपालिका वडा नं १ को संगमस्थलका रूपमा रहेको छ ।
कलमसी कालिका कल्पेश्वर धाम भक्तपुरको उत्तर पूर्वी स्थानमा रहेको धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको छ । उक्त स्थानमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मूर्ति, नाग कुण्ड, गोसाईंकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचनाहरू रहेका छन् ।
परापूर्व कालमा सुडालमा रहेको ठुली ब्रम्हायणी मन्दिरबाट सेतो रडको बाघ राती कल्पेश्वर महादेव रहेको स्थान हुदै गणेश ढुङ्गासम्म ओहोरदोहोर गर्ने गरेको किंवदन्ती रहेको छ । पुण्य भूमिमा धार्मिक शक्ति रहेकोले उक्त स्थानमा १०८ फिट कल्पेश्चर महादेवको मूर्ति स्थापना गर्न लागिएको हो ।
निर्माणाधीन मूर्ति सम्पन्न गर्ने उद्देश्यका साथ कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजले शिव पुराण लगाउने भएको हो । पहिलो चरणमा ३३ सदस्यीय मूल समारोह समिति निर्माण गरी १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण गरेर नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न महायज्ञ गर्न लागिएको हो ।
प्रतिक्रिया राख्नुहोस्