क्षयरोगी खोज्दै विदुर नपा

नुवाकोट- क्षयरोगका बिरामीहरूको पहिचानका लागि नुवाकोटको विदुर नगरपालिकामा अभियान सञ्चालन गरिएको छ । दुई छुट्टाछुट्टै स्थानमा गरिएको दुई दिने क्षयरोग खोजपड्ताल शिविरमा क्षयरोगका बिरामीहरू पहिचान गरिएका छन् ।
विदुर नपामो दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क क्षयरोग खोजपड्ताल शिविरमा तीन सय ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा ४९ जना क्षयरोगका शङ्कास्पद बिरामी पहिचान गरिएको जनस्वास्थ्य निरीक्षक राम राजा भण्डारीले जानकारी दिनुभयो ।
विदुर नपा ५ देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र विदुर १० स्थित सहरी स्वास्थ्य केन्द्र गेर्खुटारमा क्षयरोगीको पहिचान शिविर सञ्चालन गरिएको थियो । देवी घाटमा २१ जना तथा गेर्खुटारमा २८ जना शङ्कास्पद बिरामी फेला परेका हुन् ।
शङ्कास्पद बिरामीहरूको खकार नमुना थप परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको विदुर नपाकी क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीको भनाई छ । उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा एआई प्रविधि प्रयोग गरिएको डिजिटल पोर्टे बल एक्स–रे मेशिन मार्फत बिरामीहरूको छातीको परीक्षण गरिएको थियो
परीक्षण कार्यमा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर, त्रिशूली अस्पतालका चिकित्सकहरू, तथा स्वास्थ्य प्राविधिज्ञहरूको टोली परिचालन गरिएको थियो । विदुर नपाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अन्य स्थानीयवासीले पनि शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
विदुर नपामा रहेका दीर्घ रोगी, वयोवृद्ध, तथा क्षयरोगको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएकोमा बिरामीहरू लाभान्वित भएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । उनका अनुसार निःशुल्क औषधि नियमित सेवन गरेमा क्षयरोग निको हुने र डराउनु पर्दैन ।
यसका साथै शिविरमा मेयर राजन श्रेष्ठसँगै प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने तथा विदुर १० का वडा अध्यक्ष गणेशकुमार नेपाललगायतले स्वास्थ्य मानवको पहिलो अधिकार भएको कारण विदुर नपाले प्राथमिकता दिइरहेको वताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्