गुणस्तर सुनिश्चित गर्न आव्हान

नुवाकोट- प्रभावकारी निर्माणमा जोड दिँदै नुवाकोटको सूर्यगढी गाउँपालिकाले आफ्नो क्षेत्रका निर्माणाधीन योजनाको गुणस्तर सुनिश्चित गर्न पालिकावासी सम्पूर्ण सचेत नागरिकलाई आग्रह गरेको छ । सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले निर्माणाधीन योजनाको विवरण सार्वजनिक गर्दै ती योजनामा भइरहेका कामको पारदर्शिता, गुणस्तरीयतासहितको तोकिएका मापदण्डअनुसार कामको रेखदेख गरेर सचेत नागरिकको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको हो ।
पछिल्ला केही दिनमा सुर्यगढी भित्रका योजनाका सम्बन्धमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सन्देश प्रवाह गर्नेलाई लक्ष्यित गर्दै उनले आफ्नो गाउँ ठाउँमा भइरहेका योजनाको विवरण सार्वजनिक गर्दै निर्माणको चरणमा रहेका योजनाको गुणस्तरको सुनिश्चितता कायम गर्न कामको रेखदेख गर्दै एक सचेत नागरिकको कर्तव्य र जिम्मेवारी पूरा गर्न पनि पालिकावासीलाई अपिल गरेका हुन् । निर्माणका चरणमा रहेका योजनाको तोकिए अनुसारको काम भए–नभएको सम्बन्धमा यथार्थ जानकारी लिएर सोहीअनुसार निर्माण व्यवसायी र उपभोक्ता समितिलाई सजग बनाउनका लागि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न अध्यक्ष घलेले अनुरोध गर्नुभयो ।
पालिकाभित्र सञ्चालित गाउँपालिकाको प्रशासनिक भवन, प्रशासनिक भवनसँगै निर्माणाधीन पुरातात्त्विक शैलीको शिवालय मन्दिर, खारखोला, रातमाटे हुँदै हल्देकालिका सडक, नयाँ चौतारादेखि न्यु चण्डिका मोटर बाटो, सुर्यगढी १ देखि ४ र ५ जोड्ने कामी टार पक्की पुल, खारेखोला वडा नं. ४ र ५ जोड्ने पक्की पुल, नुवाकोट, उर्लेनी सडक चोकेदेखि छापसम्म, नैनेखोलादेखि सानोभोर्ले सडक र खोपेनीमा, एक घर एक धारा, वडा नं. १ देखि ५ सम्म योजना रहेको छ ।
यी योजनाबाहेक अन्य योजना पनि निर्माणाधीन रहेकाले सबै योजनाको यथार्थ विवरण लिन, तोकिएको कार्यादेशअनुसारको काम भए–नभएको निगरानी गर्न, सोहीअनुसार काम गर्न–गराउनका लागि निर्माण व्यवसायी र उपभोक्तालाई निगरानी गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्