पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो

रूपन्देही- त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा तोडेको छ ।

बिहीबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो । जितसँगै आर्मीको पुलिससँग समान अङ्क भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ।

पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । 

पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेककुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र विनोद भण्डारीले अविजित १३ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरु चम्कँदा ४१.४ ओभरमा १ सय ४८ रनमा अलआउट भएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए । यस्तै, आरिफ शेखले २२, गुल्सन झाले १७, सागर ढकालले १६ तथा अर्जुन साउदले १३ रन बनाए ।

पुलिसको ब्याटिङ धराशायी बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् ।

उनी अगाडि पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए ।

शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

यस्तै, आर्मीका नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १-१ विकेट लिए । शनिवार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको छ ।

जितसँगै समान अंक भए पनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ । भने, पराजित पुलिस दोस्रो भएको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ ।

यस्तै, भैरहवास्थित सिद्धार्थ क्रिके मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

मधेशको जितमा अनिलकुमार साहले ७०, रोहन विकल ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए । बलिङमा बागमतीका सूर्य तामाङले २ तथा इशान पाण्डे, रिजन ढकाल, गौतम केसी र विपिन आचार्यले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाउँदै इशान पाण्डेको शतकका मद्दतमा २५९ रन बनाएको थियो ।

इशानले ११४ रन बनाउँदा रिजन ढकाल र विवेक मगरले समान ३०–३० रन बनाए ।

बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिलकुमार साहले २–२ विकेट लिए ।

४–४ खेल जितेर समान ८ अंक जोडेका यी दुईटीममध्ये बागमती अंक तालिकाको ४ र मधेश सातौं स्थानमा छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.