विस्काः जात्राको अवसर पारेर भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव हुने

भक्तपुर- भक्तपुरको ऐतिहासिक विस्काः जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२ आयोजना गरिने भएको छ ।
महोत्सव चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म भक्तपुर सल्लाघारीस्थित तीनकुने खुला चौरमा सञ्चालन गरिने औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
महोत्सवमा दैनिक उपभोग्य वस्तुहरू, खाद्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरू राखिने औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सव संयोजक दीपक थापाले बताउनु भयो ।
औद्योगिक कृषि उत्पादन, सूचना प्रविधि, अटोमोबाइल तथा आधुनिक कृषि औजारको प्रदर्शनीसमेत राखिनेछ । महोत्सवमा बाल उद्यान, ड्रागन ब्रेक डान्स, विभिन्न खेलौना स्थल, रोटे पिङ, रेनजर तथा मारुती सर्कस जस्ता मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने बताइएको छ ।
स्थानीय खाद्य परिकार, पर्यटकीय गतिविधि, तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रुपमा रहने छन् । २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था सहित महोत्सवमा करिब १ सय ५० स्टल रहने र पाँच लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा प्रवेश शुल्क रु ५० र रु ८० तोकिएको छ । विद्यार्थीलाई विशेष छुट, जेष्ठ नागरिक र पत्रकारलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । बैशाख १३ गतेदेखि चर्चित गायक–गायिकाहरूको प्रस्तुति रहने छ ।
प्रतिक्रिया राख्नुहोस्