हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने प्रदेश सरकारको निर्णय

मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चैत २० गते मध्यराती १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
संसद चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा सरकार पुगेको प्रवक्ता लामिछानेले बताउनुभयो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मंगलबार दिउँसो १ बजेलाई डाकिएको प्रदेश सभा बैठक दलहरुबीच सहमती जुट्न नसकेपछी बुधबार दिउँसो १ बजेलाई सूचना टाँस गरेर सारिएको थियो ।
सदन सुचारु गर्नका लागि मंगलबार दिनभर सर्वदलीय बैठक बसेपनि कुनै निष्कर्ष भने दिन सकेन ।
सरकारले वजेट कार्यान्वयनका सम्बन्धमा विगतमा गरेका सहमती कार्यान्वयन गर्नुपर्ने, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय रवि थापाको मृत्युको विषयमा छानबिन समिति गठन गर्नुपर्ने लगायतका माग प्रतिपक्षीले राख्दै आएका छन् ।
यता सरकारले भने विगतमा आफैले बनाएको बजेटमा असन्तुष्टि राख्दै पुनः थप बजेट माग गर्नु उचित नरहेको तर्क राख्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्