पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ- नेपाल र अफगानिस्तानबीच भएको अन्डर १९ एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ ।
नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु-१९ टोलीसँग १३० रनको हार बेहारेको हो ।
यो जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
आज मुलपानी किकेट मैदान (माथिल्लो) मा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७० रनमै समेटियो ।
नेपालका लागि निरजकुमार यादवले ६१ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे ।
यसैगरी सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रन बनाए ।
अफगानिस्तानका लागि वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन र कप्तान महबुब खानले समान दुई तथा अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा ९ विकेट गुमाउँदै ३०० रनको योगफल तयार पारेको थियो ।अफगानिस्तानका लागि फैसल खान शिनोजादाले ८८ कलमा ९ चौका र चार छक्काको मद्दतले सर्वाधिक ९७ रनको योगदान गरे ।
यसैगरी खालिद अहमदजाईले १०७ बलमा ६ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४ र अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।दोस्रो विकेटका लागि शिनोजादा र आहमदजाईले १५४ रनको साझेदारी गरे ।
नेपालका लागि सन्तोष यादवले तीन, अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक-एक विकेट लिए ।।
प्रतिक्रिया राख्नुहोस्